२५ असार,वीरगञ्ज । तराई–मधेस क्षेत्रमा बढ्दो खानेपानी संकट समाधानका लागि आज वीरगञ्ज महानगरपालिकामा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा संघीय खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवको पनि उपस्थिति रहेको थियो।
बैठकमा नेपाल खानेपानी संस्थानका पर्सा तथा बारा जिल्लाका प्रमुख, महानगरका अधिकारीहरू, र सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए। बढ्दो खडेरीका कारण उत्पन्न खानेपानीको गम्भीर अभावको समीक्षा गर्दै यसको दिगो समाधानका लागि आवश्यक रणनीति र योजनाहरूमाथि गहन छलफल गरिएको छ।
खानेपानी मन्त्री यादवले जनताले भोगिरहेको पानीको चरम अभावप्रति गहिरो चिन्ता र पीडा व्यक्त गर्दै समस्याको समाधान गरेरै छाड्ने दृढ प्रतिबद्धता जाहेर गरे। उनले भने, “खानेपानी संकट जलवायु परिवर्तन र खडेरीको असरसँग प्रत्यक्ष जोडिएको छ। यस्तो स्थितिमा सरकार जनताको आधारभूत आवश्यकताप्रति गम्भीर छ र कुनै कसर बाँकी राख्ने छैन।“
स्थलगत अवलोकन र प्रत्यक्ष संवादका लागि आफू वीरगञ्ज आएको उल्लेख गर्दै मन्त्री यादवले समस्या समाधानका लागि संघीय सरकार स्तरबाट तीव्र पहल जारी रहेको बताए। बैठकमा सहभागी अन्य सरोकारवालाहरूले पनि यस संकट समाधानका लागि संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

















