Logo

२७ असार, काठमाडौं । देशभर मनसुनी वायुको सक्रियतासँगै आज पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिमतर्फ अलि उत्तरतिर रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

आज दिउँसो बागमती, गण्डकी, सुदूरपश्चिमसहितका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातसमेत हुन सक्नेछ।

रातको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यीमध्ये मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ।

महाशाखाले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने जनाउँदै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। शहरी क्षेत्र तथा तराईमा डुबानको जोखिम रहेकोले सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

त्यस्तै, नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने, जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले पूर्वतयारी र सावधानी अपनाउन आग्रह गरिएको छ।


सम्बन्धित समाचार