२७ असार, ठोरी । केही दिनयता सामाजिक सञ्जालमा ठोरी गाउँपालिका र यसका कर्मचारीहरूको चरित्रहत्या गर्ने उद्देश्यले भ्रामक तथा आधारहीन समाचारहरू प्रकाशित भएको भन्दै गाउँपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै यस्ता निराधार आरोपहरूको खण्डन गर्नुका साथै प्रमाणविना चरित्रहत्या गर्नेहरूलाई कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।
अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा राखिएका समाचार र लगाइएका आरोपहरूको कुनै प्रमाण पेस नगरिएको बताएका छन्। उनले आधारहीन, तथ्यहीन र प्रमाणबिहीन रूपमा नियोजित समाचार लेखेर सर्वसाधारणमा भ्रम फैलाउने मिडिया तथा फेसबुक पेजका सञ्चालकहरूलाई यदि उनीहरूले लेखेका समाचारका कुनै प्रमाण वा आधार भएमा प्रमाणसहित गाउँपालिकामा जानकारी गराउन अनुरोध गरेका छन्। उनले प्रमाण पुगेमा कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
साथै, प्रमाणविना व्यक्तिगत चरित्रहत्या गर्ने मिडिया तथा सामाजिक सञ्जाल सञ्चालकहरूमाथि यथाशीघ्र नेपाल सरकारको विद्युतीय अपराधअन्तर्गत कानुनी बाटो अपनाइने जानकारी गराइएको छ।
अध्यक्ष श्रेष्ठले यस्ता भ्रामक समाचारका कारण आफ्नो मनोबल नगिराई दृढ रूपमा आफ्नो कार्यमा दत्तचित्त भई अघि बढ्न सबै कर्मचारीहरूलाई निर्देशन दिएका छन्। गाउँपालिकाले छिट्टै प्रक्रिया अघि बढाएर कानुनी बाटोमा जानेसमेत जानकारी गराउँदै तथ्यहीन समाचारका पछि नलाग्न सबैमा अपील गरेको छ।















