२९ असार,काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको लक्ष्यसहित ’जनआन्दोलन परिचालन समिति’ गठन गरी आन्दोलनको नेतृत्व गरिरहेका नवराज सुवेदीले आफूलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगको अध्यक्ष पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।
आयोगमा बुझाएको निवेदनमा सुवेदीले आफ्नो चार वर्षे कार्यकाल बाँकी छँदै आफूलाई पदबाट हटाइनु पार्टी विधानविपरीत हुने जिकीर गरेका छन्। राप्रपाले हालै सुवेदीलाई अनुशासन आयोगको अध्यक्षबाट र सगुन सुन्दर लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको थियो।
आज राप्रपाका महामन्त्री धवल शमशेर राणासहित निर्वाचन आयोग पुगेका सुवेदीले आफ्नो पार्टीको पदीय हैसियत यथावत् कायम गरिपाउँ भनी निवेदन दिएका छन्।
स्मरण रहोस्, चैत ४ गते सुवेदीले ’राप्रपा छाडेको’ घोषणा गर्दै राजावादी आन्दोलनमा पूर्ण रूपमा लाग्ने बताएका थिए। तर, अहिले उनले पार्टीबाट आफूलाई ’अन्यायपूर्वक निष्कासित’ गरिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको कदमको विरोध गरेका छन्।

















