प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२९ असार,काठमाडौं । नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ आइतबार प्रतिनिधिसभामा दर्ता भएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उक्त विधेयक सदनमा पेस गरेका हुन्।

विधेयक ल्याउनुको आवश्यकता र उद्देश्य
मन्त्री अधिकारीका अनुसार, नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ लागू भएको २७ वर्ष पुग्न लाग्दा पशु चिकित्सा क्षेत्रका आयामहरूमा व्यापक परिवर्तन आएकाले ऐन संशोधन गर्न लागिएको हो। यो संशोधनले पशु चिकित्सकको नाम दर्ता, पशु चिकित्सा व्यवसाय तथा अध्ययन अध्यापन गराउने शैक्षिक संस्थाको नियमन, र पशु चिकित्सकको क्षेत्राधिकारलाई प्राविधिक दृष्टिकोणबाट थप विशिष्टीकृत गर्न खोजेको छ।

विधेयकमा पशु चिकित्सा व्यवसायको परिभाषा, पशु चिकित्सकको नाम दर्ता परीक्षा सञ्चालन, विशेषज्ञ दर्ता, कसुर र सजायमा समयानुकूल परिमार्जन गर्ने व्यवस्था गरिएको छ। यस्तै, मुद्दाको पुनरावेदनको व्यवस्था, निर्देशिका, मापदण्ड तथा कार्यविधि जारी गर्ने व्यवस्था, र मुद्दाको अनुसन्धान तथा दायरीको प्रक्रियालाई समेत स्पष्ट पारिएको तथा दण्ड जरिवानालाई समय सापेक्ष बनाइएको मन्त्री अधिकारीले बताएका छन्।

मानव र पशु स्वास्थ्यको सुनिश्चिततामा विधेयकको भूमिका
मन्त्री अधिकारीले विधेयकको उद्देश्यमा नेपालको संविधानको धारा ३६ ले प्रत्याभूत गरेको खाद्यको हक र धारा ४४ ले दिएको गुणस्तरीय वस्तु र सेवा उपभोग गर्न पाउने मौलिक हक को व्यवस्थालाई सुनिश्चित गर्न विधेयक महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। पशु, पशुजन्य पदार्थ र पशु उत्पादन सामग्रीको गुणस्तरीय उत्पादन र वितरणमा पशु चिकित्सकहरूको नेतृत्वदायी भूमिका हुने भएकाले पनि यो विधेयक आवश्यक परेको उनको भनाइ छ।

उनका अनुसार, विश्व पशु स्वास्थ्य संगठनले जारी गरेका मापदण्डमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय पशु तथा पशुजन्य वस्तुको व्यापारमा पशु चिकित्सकको भूमिका बढ्दै गएको छ। बढ्दो पशुपालन क्षेत्रको व्यवसायीकरणसँगै मानिसमा पशुपन्छीबाट सर्ने रोगहरूमा वृद्धि भएकोले विशेषज्ञ पशु चिकित्सा सेवाको माग पनि बढ्दै गएको छ।

गुणस्तरीय पशु चिकित्सा व्यवसायमार्फत पशुधनको सुरक्षा, पशु कल्याणको सुनिश्चितता र मानव स्वास्थ्यलाई संवद्र्धन गर्ने कार्यभार पशु चिकित्साकर्मीको रहेको मन्त्री अधिकारीले औँल्याएका छन्। नेपालले अन्तर्राष्ट्रिय रूपमा गरेका पशु चिकित्सा क्षेत्रका प्रतिबद्धताहरूलाई पूरा गर्दै संवैधानिक हकलाई समेत सुनिश्चितताका लागि टेवा पु¥याउन विधेयक ल्याइएको उनले बताए।

यो विधेयकले पशु चिकित्सा तथा पशुपालन विज्ञान अध्यापन गराउने शैक्षिक संस्थाको नियमन, शैक्षिक संस्थाहरूले प्रदान गर्ने उपाधिको मान्यता, पशु चिकित्सकको नाम दर्ता र पशु चिकित्सा व्यवसायको नियमनमार्फत दक्ष तथा प्रतिस्पर्धी पशु चिकित्सकको उत्पादन गर्ने उद्देश्य राखेको छ। गुणस्तरीय पशु चिकित्सा व्यवसायलाई प्रभावकारी बनाउँदै किसानको गुणस्तरीय पशु चिकित्सा सेवा पाउने हक र उपभोक्ताले गुणस्तरीय पशुजन्य पदार्थ उपभोग गर्न पाउने हकलाई टेवा पु¥याउन नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्नु परेको उद्देश्य र कारणमा उल्लेख छ।

 


सम्बन्धित समाचार