२९ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पेन गएका नेपालीहरू नफर्किएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै आइतबार प्रतिनिधि सभाको बैठकमा विरोध जनाएको छ।
सभामुखले समय दिएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीबाट यस विषयमा स्पष्टीकरणको माग गरिन्। उनले भनिन्, “भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं।“
सांसद श्रेष्ठले स्पेनको ’सेल्भिस’ को घटनाले आफूहरूले उठाउँदै आएको विषयको महत्त्व झन् पुष्टि गरेको बताइन्। तथापि, बिचौलियाहरू किन नडराएको भन्दै उनले प्रश्न गरिन्, “सदनमा आन्दोलन हुँदै बेला पनि बिचौलियाहरूलाई न डर न भय न संकोच। कसको अकर्मण्यताले गर्दा यस्तो आँट मानव तस्कर र स्मग्लरहरूमा पलाएको हो? सदनको गरिमा त निलो रिवनमा भन्दा यसमा खोज्नुपर्ला सभामुख महोदय। देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी?“
२०७८ साल फागुनमा बनेको भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदनमा अहिलेको जस्तै विभिन्न मन्त्रालयबाट सह–सचिवहरूको जम्बो टोली रहेको उनले स्मरण गराइन्। उक्त प्रतिवेदन गृहमन्त्रालयको कुनै कुनामा धुलो बटुलेर बसेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन्। कोभिडपछिको समयमा दुबईमा नेपालीहरूको भिजिट भिसामा बिचल्ली परेपछि गठित उक्त कार्यदल र अहिलेको कार्यदलमा केही फरक नरहेको उनको भनाइ छ।
मानव तस्करीको जालो ठूलो रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले यस विषयमा उच्चस्तरीय छानबिन न्यायिक आयोग बन्नुपर्ने माग गरिन्।

















