३० असार,जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटसँगै प्रस्तुत गरेको रेडबुकको २९४ पाना लुकाएको भन्दै सत्ता घटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकै सांसद उपेन्द्र महतोले सरकारमाथि आक्रोश पोखेका छन्।
विनियोजन विधेयक २०८२ को छलफलमा भाग लिँदै सांसद महतोले आफूहरूले नदेखेको र नपढेको योजना कसरी पारित गर्ने भन्दै सरकारलाई प्रश्न गरे। उनले भने, “हामीलाई दिएको रेडबुकमा ४६१ पाना छ। २९४ पाना त हामीलाई दिएकै छैन। हामीले पढ्दै नपढेको, देख्दै नदेखेको योजनाहरू पास गर्ने हो? हामीलाई तपाईंहरू सरकारले गुलाम बनाउन खोज्नु भएको छ?“
सांसद महतोले सरकारले सत्ताको बलमा र आफूहरूले दिएको समर्थनको आडमा सबै सांसदहरूलाई गुलाम बनाउन खोजेकोमा आपत्ति जनाए। उनले तत्काल लुकाइएको रेडबुकको २९४ पाना सार्वजनिक गर्नुपर्ने माग राखे।
“सरकारले आज रेकर्ड बनाउँदै छ। आज इतिहास बन्छ,“ उनले थपे, “कुकर्मी वा सुकर्मीको इतिहास बन्छ तपाईंहरूको। इतिहासले माफ गर्दैन।“ सांसद महतोको यो अभिव्यक्तिले मधेश प्रदेशको बजेट छलफलमा नयाँ मोड ल्याएको छ, र सरकारमाथि थप पारदर्शिताको दबाब बढेको छ।















