३० असार,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आज संसद् बैठकमा सभामुख देवराज घिमिरेको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्। दुई प्रमुख प्रतिपक्षी दलको निरन्तर विरोधका बाबजुद संसद चलाइएको भन्दै उनले यसलाई संसदीय इतिहासकै ’कालो समय’ को संज्ञा दिए।
सदनको सुरुवातमा समय लिएर बोल्दै लिङ्देनले भिजिट भिसा प्रकरणमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेढ महिनादेखि विरोध गरिरहेको अवस्थामा पनि सभामुखले त्यसलाई बेवास्ता गरेकोमा असन्तुष्टि पोखे। “संसदका दुई महत्त्वपूर्ण राजनीतिक पार्टीले डेढ महिनादेखि विरोध जनाइराख्दा जबरजस्ती संसद् चलाउने प्रयास भइरहेको छ,“ उनले भने, “यो केवल सरकारको अकर्मण्यता र उदासीनता मात्र होइन, तपाईँको कार्यकालको सबैभन्दा कालो समय हो। सभामुखले प्रयास र पहल गर्नुप¥यो। प्रतिपक्षी दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयास गर्नुप¥यो।“
लिङ्देनले सरकारको सुशासनमाथि पनि गम्भीर प्रश्न उठाए। मन्त्रीहरू एकपछि अर्को लेनदेन काण्डमा मुछिँदा पनि प्रधानमन्त्रीको ’सुशासन आयोग’ कहाँ छ भन्दै उनले व्यङ्ग्य गरे। “जनताले प्रधानमन्त्रीको सुशासन आयोग खोजिरहेका छन्,“ उनले थपे, “यदि नैतिकता छ, सुशासनप्रति अलिकति मात्रै प्रतिबद्धता छ भने मन्त्रीहरूको राजीनामा मागिनुपर्ने होइन? उनीहरूलाई बर्खास्त गर्नुपर्ने होइन?“
लिङ्देनले ठूला राजनीतिक दलहरूले जनतालाई भ्रममा पारेर देश लुटिरहेको आरोपसमेत लगाए। “राजावादीलाई, गणतन्त्र विरोधीलाई तह लगायौँ भनेर डंका पिटेर जनतालाई भ्रम छरेको त छट्टु स्यालको कथा पो रहेछ,“ उनले भने, “चिल आयो भन्ने अनि तल चल्ला टिप्ने अनि जनताको ध्यान एकातिर लगेर ठूला पार्टी मिलेर देश लुट्ने।“

















