Logo

३० असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखक, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमिसुधारमन्त्री बलराम अधिकारी माथि तत्काल छानबिन गरी कारबाही गर्न माग गरेको छ। सोमबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले उठेर विरोध प्रदर्शन गरेका थिए।

सभामुख देवराज घिमिरेले बोल्ने समय दिएपछि रास्वपाका सांसद अशोककुमार चौधरी ले सरकारले सुशासनको प्रत्याभूति दिन नसकेको आरोप लगाए। उनले प्रश्न उठेका मन्त्रीहरूमाथि तत्काल कारबाही हुनुपर्नेमा जोड दिए। “गृहमन्त्री रमेश लेखक, भूमिसुधारमन्त्री बलराम अधिकारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि लागेका गम्भीर आरोपबारे किन छानबिन गरिएको छैन?“ चौधरीले प्रश्न गरे, “यदि उनीहरू संविधानभन्दा माथि छैनन् भने तुरुन्तै कारबाही गरियोस्।“

भिजिट भिसा प्रकरण लाई लिएर रास्वपाले विगत ४७ दिनदेखि संसद्को कामकारबाहीमा भाग लिएको छैन।

पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि रास्वपाले गृहमन्त्री लेखकसहित अन्य मन्त्रीहरूमाथि पनि प्रश्न उठाएर कारबाहीको मागलाई थप तीव्र बनाएको हो। यस घटनाले सरकारमाथि सुशासन कायम गर्ने दबाब बढाएको छ।

 


सम्बन्धित समाचार