३० असार,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले वर्तमान सरकार दलाल र बिचौलियाको स्वार्थमा चलिरहेको गम्भीर आरोप लगाएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै उनले ’अप्राकृतिक गठबन्धन’ को चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको बताए।
प्रचण्डले भने, “तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ।“ उनका अनुसार अर्बौंको चलखेल उल्ट्याउन र सेटिङ भत्काउन खोज्दा बनेको यो गठबन्धन स्वयंले आफ्नो चरित्र प्रकट गरिसकेको छ।
भ्रष्टाचार र अनियमितताका शृंखलाः
प्रचण्डले सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको आरोप लगाउँदै विभिन्न घटनाहरूको उदाहरण दिए। उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरू जस्ता विषयहरूमा सरकारको संलग्नता रहेको दाबी गरे।
उनले स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भनी प्रश्न उठाए।
सम्बोधनको क्रममा अध्यक्ष प्रचण्डले भने, “सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ, जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो।“ यस भनाइले सरकारको कार्यशैली र भ्रष्टाचार नियन्त्रणमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।















