३० असार,वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमाथि गम्भीर प्रश्न उठेको छ। सांसदहरूलाई वितरण गरिएको बजेटको ’रेडबुक’ (विवरण पुस्तिका) का दुई भिन्न संस्करण फेला परेका छन्, जसले गर्दा हजारौं योजनाहरू गायब भएको आरोप लागेको छ। एक रेडबुकमा ४६१ पाना मात्रै रहेको छ भने अर्को रेडबुक २९४ पानाको पाइएको छ।
सोमबार विनियोजन विधेयक–२०८२ माथिको छलफलमा भाग लिँदै सत्तारुढ दलका अधिकांश सांसदले बजेटप्रति कडा आक्रोश व्यक्त गरेका छन्। बजेटका २९४ पाना लुकाइएको भन्दै सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद उपेन्द्र महतोले सरकारमाथि आक्रोश पोखे।
गायब भएका ८ हजार योजनाले संसदमा हंगामा
प्रतिपक्षी दलहरूले गायब रहेका २९४ पानामा करिब ८ हजार योजना रहेको दाबी गरेका छन्। सांसद उपेन्द्र महतोले ७५५ पेजको रेडबुक नभेटिए संसद अवरुद्ध गर्ने चेतावनी दिए। उनले भने, ‘मैले मेरो हातमा ७५५ पेजको रेडबुक भेटिएन भने रोस्टम (वक्तामञ्च) छोड्दिनँ। होइन भने सभामुखमार्फत सरकारले मलाई ७५५ पेजको रेडबुक दिनुप¥यो।’ रोस्टम नछाडेर त्यहीँ उभिएपछि सभामुखले सचिवालयबाट उपलब्ध गराउने आश्वासन दिएपछि मात्रै सांसद महतोले रोस्टम छोडेका थिए।
मन्त्रीबाहेक सबै सांसद असन्तुष्टः शिक्षामन्त्रीमाथि पक्षपातको आरोप
सत्तारुढ नेकपा एमालेका सांसद लखन दासले मन्त्रीबाहेक सबै सांसद बजेटबाट असन्तुष्ट रहेको बताए। उनले शिक्षामन्त्रीमाथि बजेटमा काखापाखा गरेको आरोप लगाए। दासको भनाइमा, यस प्रकारको असमावेशी बजेटले शिक्षालाई संस्थागत विकास गर्न समस्या हुनेछ।
उनले शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले आफ्नो निर्वाचन क्षेत्र महोत्तरी ३ को ‘२’ मा ४१ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए। उनले मन्त्रीको निर्वाचन क्षेत्रमा १ सय १७ वटा योजना रहेको र तीमध्ये अधिकांश योजना ‘एनजीओ पाल्ने’ गरी राखिएको आरोप लगाए।
कांग्रेस सांसद वीरेन्द्र सिंहले सरकारको बेथिति असह्य भएको बताए। उनले मन्त्रीलाई शपथ गराउनुअघि कार्यक्षेत्र बुझाउनुपर्ने सुझाव दिए। सिंहले सुशासनको गफ दिएर मन्त्रीहरूले कुशासन छर्लङ्ग देखिने गरी बजेट ल्याएको बताए।
पूर्वमुख्यमन्त्रीद्वारा दुईथरी ’रातो किताब’ सार्वजनिक
आजै बसेको मधेश प्रदेशसभाको पहिलो बैठकमा जसपा नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले बजेटको ’रेडबुक’ नै दुई खालको बनाइएको र लगभग ८ हजार योजना लुकाइएको दाबीसहित दुवै रातो किताब सदनमा देखाए।
यादवले दुवै रातो किताब देखाउँदै भने, ‘बजेट ल्याएको १० दिनपछि सांसदहरूलाई सदनमा रेडबुक बाँडिएको थियो, जुन रेडबुक ४६१ पेजको छ। तर, वास्तविक ७५५ पेजको रेडबुकका २९४ पेजका करिब ८ हजार योजना लुकाइएको छ।’ उनले सरकारले आर्थिक अपराध गरेको आरोपसमेत लगाए। उनले ३ अर्ब र अर्को ९७ करोड ६० लाखको कुपोषण शीर्षकको छुट भुक्तानीको विनियोजनमा पनि गडबडी भएको आरोप लगाएका छन्।

















