प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३० असार,काठमाडौं । दुईजना मन्त्री घुस प्रकरणमा मुछिएर सरकार चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका नेताहरूसँग छलफल तीव्र पारेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी एवं गरिबी निवारण मन्त्री बलराम अधिकारी ७८ लाख रुपैयाँको घुस प्रकरणमा विवादमा तानिएपछि प्रधानमन्त्री ओली दबाबमा परेका छन्। यसै सन्दर्भमा ओलीले सोमबार साँझ सत्तारुढ दुई दलका शीर्ष नेताहरूसँग परामर्श गर्ने तयारी गरेका छन्।

देउवा र यादवसँग प्रधानमन्त्रीको संवाद
प्रधानमन्त्री ओलीले सोमबार साँझ मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रमुख सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सात दलीय गठबन्धनमा असन्तुष्ट रहेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग संवाद गर्न लागेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री ओलीले देउवासँग विवादमा तानिएका मन्त्रीहरूको हेरफेर र नयाँ सम्भावित मन्त्रीहरूबारे छलफल गर्न सक्नेछन्। उनले देउवासँगको आवश्यक परामर्शपछि मन्त्रीहरूबारे आवश्यक निर्णय लिने तयारी गरेका छन्।

मन्त्रीमण्डल नै फेर्ने रणनीतिमा ओली
गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरण सेलाउन नपाउँदै थप दुई मन्त्री घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री ओलीमाथि दबाब चुलिएको छ। दुवै मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने आवाज चर्किरहेका बेला प्रधानमन्त्री ओलीले भने बरु सबै मन्त्रीहरूको सेट नै फेर्ने रणनीति बनाएको बुझिएको छ। बालुवाटार स्रोतका अनुसार, उनले कांग्रेस सभापति देउवाबाट पनि नयाँ मन्त्रीहरूको सूची लिएर दुवै दलका मन्त्रीको सेट फेर्ने तयारी गरेका छन्।

सरकारको समीक्षा र जसपालाई भित्र्याउने कसरत
सोमबार प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सरकारको एक वर्षे कार्यकाललाई लिएर संसदमा सरकारलाई घेराबन्दी गरेका थिए। दाहालले सरकार पूरै असफल भएको निष्कर्ष सुनाएको अवस्थामा प्रधानमन्त्री ओलीले देउवासँग बसेर कामको समीक्षा पनि गर्ने भएका छन्।

अर्कोतर्फ, स्रोतका अनुसार उपेन्द्र यादवसँग सरकारमा सहभागिताबारे कुराकानी हुन सक्नेछ। यसअघि सात दलीय गठबन्धनको सदस्य रहे पनि जसपा सरकारमा सहभागी थिएन। सरकारसँग असन्तुष्ट जसपाले यसअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको थियो। अध्यक्ष यादवले आफैंले घोषणा गरे पनि अहिलेसम्म औपचारिक रुपमा सरकारको समर्थन फिर्ता लिएका छैनन्।

स्रोतका अनुसार देउवा र ओलीले यादवलाई नै मन्त्री बनाउने गरी जसपालाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको अवस्थामा यादवलाई कुनै राम्रो मन्त्रालय दिएर जसपालाई सरकारमा भित्र्याउने योजना दुई नेताको छ। नागरिक उन्मुक्तिले समर्थन फिर्ताको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराइसकेको छ।

यता, यादवलाई सरकारमा भित्र्याउन सकेमा राष्ट्रियसभामा रहेको अल्पमतको अवस्था पनि हट्ने हिसाब दुई नेताले गरेका छन्। यादवलाई नै सरकारमा भित्र्याएमा संसद्मा अड्किएका कतिपय विधेयकहरू माथिल्लो सदनबाट पारित गराउन पनि सजिलो हुनेछ।


सम्बन्धित समाचार