Logo

३१ असार,जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह ले प्रदेशमा व्याप्त सुक्खाग्रस्त र खानेपानीको समस्या समाधानका लागि प्रदेश सरकारले स्रोतसाधन परिचालन गर्ने बताएका छन्। आज सरोकारवाला मन्त्रालय र दातृ निकायहरूसँगको बैठकमा मुख्यमन्त्री सिंहले यी समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यकतामा जोड दिए।

उनले प्रदेश सरकार र दातृ निकायहरूबाट गर्न सकिने तत्कालीन र दीर्घकालीन उपायहरू तत्काल अवलम्बन गर्न आग्रह गर्दै भने, “बैठक र निर्णय मात्र होइन, के गर्न सकिन्छ तुरुन्तै सुरु गरौँ।“

मुख्यमन्त्री सिंहले प्रदेशका सबै १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या रहेको बताउँदै प्रदेशका नागरिक संकटमा रहेका बेला सहयोग गर्न अग्रसरता देखाउनका लागि दातृ निकायका प्रतिनिधिहरूलाई आग्रह गरे। उनले भने, “प्रदेशका नागरिक अहिले वातावरणीय असन्तुलनको प्रभावबाट संकटमा रहेका बेला खुल्ला हृदयले सहयोग गर्न दातृ निकायहरूलाई आग्रह गर्दछु।“

बैठकमा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव को समेत उपस्थिति रहेको थियो। बैठकमा मन्त्रालयगत रूपमा वर्तमान अवस्थाबारे तथ्यांक प्रस्तुत गरिएको थियो। दातृ निकायका प्रतिनिधिहरूले भने आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।

 


सम्बन्धित समाचार