प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३१ असार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपाली ले प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा गृहमन्त्री रमेश लेखक सहित सरकारका विवादित मन्त्रीहरूबारे प्रश्न उठाएका छन्। उनले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखक र भ्रष्टाचार तथा घुस प्रकरणमा संलग्न रहेका मन्त्रीहरूलाई अहिलेको नेतृत्वले जोगाउन खोजेको आरोप लगाए।

सांसद नेपालीले भने, “हामी बोलेको बोल्यै छौँ, सरकार पेलेको पेल्यै छ।“ उनले भोटेकोशी बाढीले थप पीडा दिएको भन्दै तत्काल उद्धार र राहतका लागि सरकारी संयन्त्र सक्रिय हुनुपर्ने मागसमेत गरे।

नेपालीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता ले राजीनामा दिएर मात्रै नपुग्ने बताए। “अध्यागमन विभागमार्फत भएको मानव तस्करीमा गृहमन्त्री प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन्। गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो?“, उनले प्रश्न गरे, “घुस प्रकरणमा जोडिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै पुग्दैन, छानबिन पनि हुनुपर्छ।“

रास्वपाले लगातार ४९ दिनदेखि यो विषयमा आवाज उठाउँदा पनि कुनै छानबिन नहुनु सरकारको गैरजिम्मेवारीपनको पराकाष्ठा भएको उनले दाबी गरे। “संसद् सुचारु राख्न संवादको ढोका खुला राख्नु हाम्रो जिम्मेवारी हो,“ उनले भने, “तर, सरकार गम्भीर भएर संवाद अघि बढाओस्, हामी आन्दोलन जारी राख्छौँ।“ रास्वपा सांसद नेपालीले यो चेतावनी दिएसँगै बैठक बहिष्कार गरेका थिए।

 


सम्बन्धित समाचार