३१ असार,काठमाडौं । स्पेनको सेभिलामा हालै सम्पन्न संयुक्त राष्ट्रसंघीय सम्मेलनमा असम्बन्धित व्यक्तिहरूलाई सहभागी बनाएर विदेश पठाउने गिरोहबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक समिति गठन गरेको छ।
ब्यूरोका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ का अनुसार, सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटी को नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत ६ जना सदस्य रहेको समिति बनाइएको हो। यस समितिलाई रकम लिएर स्पेन पठाइएको भनिएको घटनाको सत्यतथ्य पत्ता लगाउने र सञ्चारमाध्यममा आएका विषयहरूमा जाँच गरी कसरी अघि बढ्न सकिन्छ भन्ने निक्र्योल गर्ने जिम्मेवारी दिइएको छ।
गृहमन्त्रीको निर्देशनपछि छानबिन सुरुः
यसअघि सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखक ले बोलाएको बैठकमा यो मामिलाको छानबिन प्रहरीमार्फत अघि बढाउने निर्णय भएको थियो। प्रहरी महानिरीक्षक दिपक थापा, सीआईबी प्रमुख खापुङ, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल लगायत सहभागी बैठकले असम्बन्धित व्यक्तिहरू समेत स्पेन गएको हुनसक्ने निष्कर्ष निकाल्दै गृहमन्त्री लेखकले विस्तृत छानबिन गर्न निर्देशन दिएका थिए।
कसरी हुन्थ्यो अवैध ’भिजिट भिसा’ यात्रा?
बैठकमा सहभागी एक अधिकारीका अनुसार, स्पेनको सेभिलामा जुन ३० देखि जुलाई २ सम्म चलेको ’विकासका लागि वित्त (फाइनान्सिङ अफ डेभलपमेन्ट) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरूलाई विदेश पठाइएको आशंका गरिएको छ।
प्राप्त जानकारीअनुसार, १४ असारमा प्रधानमन्त्री केपी शर्मा ओली समेत स्पेनका लागि उडेकै विमानमा पनि केही व्यक्तिहरूलाई विचौलियाले मड्रिड पु¥याएका थिए। गैरसरकारी संस्थातर्फबाट सहभागिताका लागि भन्दै उनीहरूको नाम वेबसाइटमार्फत दर्ता गराइएको थियो, जसको आधारमा कार्यक्रमको निम्तो आउने र सोही निम्तो देखाएर दिल्लीस्थित स्पेनको दूतावासबाट भिसा प्राप्त गर्ने गरेको खुलेको छ।
पछि भिसा लिएकाहरूको पृष्ठभूमि शंकास्पद देखिएपछि ५५ जनाको सूची एयरलाइन्सका कर्मचारीहरूलाई पठाई उनीहरूलाई रोक्न भनिएको थियो। खानेपानी मन्त्री प्रदीप यादव सहित केही अधिकारीहरू सोही कार्यक्रममा सहभागी हुन स्पेन प्रस्थान गर्दै गर्दा पनि थुप्रै व्यक्तिहरूलाई फर्काइएको थियो। अनलाइनखबरको रिपोर्टअनुसार, स्पेन पुगेका व्यक्तिहरू र प्राप्त कागजातका आधारमा कम्तीमा ७ जना नागरिक कार्यक्रममा सहभागी नभई त्यहीँ बसेको देखिन्छ।
सीआईबीको यो छानबिन समितिले यस प्रकरणमा संलग्न गिरोह र यसको वास्तविक दायरा पत्ता लगाउन सफल होला त?















