३१ असार,काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई एक महिना पनि नपुग्दै जिम्मेवारीबाट हटाएको छ। मंगलबार गृहमन्त्रीस्तरीय निर्णयबाट प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइराला को सरुवा भएको हो। कोइरालालाई जेठ ६ गते मात्रै पाँचथरको प्रमुख जिल्ला अधिकारीबाट सरुवा गरेर विमानस्थल अध्यागमनमा ल्याइएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराई माथि छानबिन गरिरहेको जानकारी पाएपछि गृह मन्त्रालयले भट्टराईलाई हटाएर कोइरालालाई जिम्मेवारी दिएको थियो। तर, कोइराला हाजिर हुन नपाउँदै अख्तियारले विमानस्थलमा छापा मारेर सहसचिव भट्टराईलाई पक्राउ गरेको थियो। भट्टराई पछि हाजिर जमानतमा छुटेका थिए।
अहिले कोइरालालाई समेत हटाएर खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी दिइएको छ।















