Logo

३१ असार,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ले नेकपा एमालेमा आफ्नो भूमिकाका बारेमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन्। मंगलबार मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले एमालेको राजनीतिमा सक्रिय भएर देशको सेवा गर्ने भन्दै आफ्नो भूमिकाका बारेमा एमाले केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी हुन्।

पार्टीको संरचनामाथि निर्णय केन्द्रीय नेतृत्वको हातमा
भण्डारीका अनुसार, महाधिवेशनअघि केन्द्रीय कमिटी नै माथिल्लो निकाय भएकाले एमालेमा आफ्नो कुन संरचनामा के भूमिका हुने भन्ने कुरा माथिल्लो तहको नेतृत्वले निर्णय गर्नेछ।

त्यस्तै, विधान महाधिवेशनको सन्दर्भमा दशौँ महाधिवेशनका प्रतिनिधिहरूले नै भाग लिने भए पनि नयाँ सदस्यसमेत थपिएकाले यस बारेमा पनि पार्टी केन्द्रीय कमिटीले नै निर्णय लिने उनको भनाइ थियो।

संसद विघटनबारे स्पष्टीकरण
पूर्वराष्ट्रपति भण्डारीले संसद विघटनको घटनाले आफूलाई पछ्याइरहने बारेमा आफू जानकार रहेको जिकिर गरिन्। उनले संसद विघटनको घटनाले आफूलाई कुनै दबाब नभई मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन मात्र गरेको स्पष्ट पारिन्।

मदन भण्डारी जन्मजयन्ती मनाइने
मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन पूर्वराष्ट्रपति भण्डारीको संरक्षकत्वमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल को संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको जानकारी दिएको छ।

फाउण्डेशनका अनुसार, विचार गोष्ठी, वादविवाद, हाजिरी जवाफ, खेलकुद प्रतियोगिता लगायतका रचनात्मक क्रियाकलापका साथ मदन भण्डारीको जन्मजयन्तीलाई २०८२ र २०८३ सालभरि मनाइनेछ।


सम्बन्धित समाचार