३२ असार,सेढवा । पर्साको जिराभवानी गाउँपालिका-२ स्थित श्री वन शक्ति प्राथमिक विद्यालय काठमाडौँ टोलमा आज एक कार्यक्रमबीच विद्यार्थीहरूलाई छात्रवृत्ति स्वरूप हाउस ड्रेस (टि-शर्ट र पाइन्ट) वितरण गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) सौराहाको आर्थिक सहयोग तथा पञ्चमुखी उपभोक्ता समितिको सहजीकरणमा यो कार्यक्रम सम्पन्न भएको हो। आरआरटी (Rapid Response Team) समितिका संयोजक जितेन्द्र प्रसाद यादवले जानकारी दिएअनुसार, NTNC सौराहाले पञ्चमुखी उपभोक्ता समितिका लागि सुवर्ण बचत तथा ऋण सहकारी संस्था सुवर्णपुरमा एउटा अक्षयकोष खडा गरेको थियो।
उक्त अक्षयकोषको ब्याजबाट CBAPu (Community Based Anti-Poaching Unit) र RRT समितिले गस्तीका क्रममा खाजा खर्च गर्ने भनिएकोमा, CBAPU र RRT का सदस्यहरूले आफ्नो खाजाको रकम कटौती गरी ९० जना विद्यार्थीलाई हाउस ड्रेस वितरण गरेका हुन्।
कार्यक्रममा पञ्चमुखी उपभोक्ता समितिका अध्यक्ष जयचन्द्र दास, आरआरटी संयोजक जितेन्द्र यादव, पर्सा राष्ट्रिय निकुञ्जका गेम स्काउट सिनियर सञ्जय कुमार यादव, पञ्चमुखी मध्यवर्ती सामुदायिक वन समितिका सचिव विजय लाल साह, विद्यालयका प्रधानाध्यापक गोविन्द मिर्दाहा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण मोहन साह, विद्यालयका शिक्षक–शिक्षिका तथा स्थानीय अभिभावकहरूको सहभागिता रहेको पञ्चमुखी उपभोक्ता समितिका सचिव नन्दलाल यादवले जानकारी दिए।















