३२ असार,पोखरा । पोखरामा जग्गा छुट दर्ता र नामसारी गराइदिने नाममा करोडौं रुपैयाँ ठगी भएको प्रकरणमा बिचौलिया सुजन लामाको नाम आएको छ। मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसँग मिलेर लामाले विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ लिएको पाइएको छ।
पोखरा–१६ अमरदीपस्थित करिब १३५ रोपनी जग्गा छुट दर्ता गराइदिने भन्दै लामाले बिभिन्न व्यक्तिहरूबाट ठूलो रकम असुलेको छ। खासगरी, लिची बगैंचा क्षेत्रमा रहेको जग्गा हत्याउने र नामसारी गर्ने प्रलोभन देखाएर लामाले करोडौं रुपैयाँ उठाएको पीडितहरुले बताएका छन्।
बिचौलियाले तामाङ थरका एक व्यक्तिबाट मात्र ११ करोड रुपैयाँ उठाएको र अर्की एक महिलाको घरजग्गा समेत कब्जा गरी उनीहरुलाई उठीबास बनाएको गुनासो छ। देउतीमाया गुरुङ नाम गरेकी महिलाले रामबजारको आफ्नो घर खाइदिएर लामाले पैसा लिएर फरार भएको उजुरी गरेकी छन्। उनीसँगै अरु पनि पीडितहरुले लामाको क्रियाकलापबारे प्रहरीमा उजुरी दिएका छन्।
यो प्रकरणमा राष्ट्रिय खेलकुद परिषद्का पूर्व बोर्ड सदस्य राजेश गुरुङले समेत लामालाई संरक्षण गरेको आरोप छ। पीडितहरुले राजेशमार्फत उजुरी दिन रोक लगाइएको गुनासो गरेका छन्।
माघ ११ गते मन्त्रिपरिषद्ले छुट दर्ता प्रक्रियालाई स्पष्ट पार्ने निर्णय गरेपनि लामाले त्यसको दुरुपयोग गर्दै राजनीतिक र प्रशासनिक तहमा प्रभाव जमाएर काम गरेको बताइएको छ।
मालपोत कार्यालयका कर्मचारी र नापी कार्यालयमा समेत लामाको प्रभाव छ, जसले गर्दा कर्मचारीहरु बीच सरुवा–टसले तनाव बढाएको छ। लामाले विभिन्न राजनीतिक नेताहरु र कर्मचारीहरुसँग मिलेर चलखेल गरेको स्थानीय र प्रशासनिक तहका स्रोतले बताएका छन्।
४० वर्ष पुरानो अदालतको फैसला अनुसार जग्गा कायम भएपनि त्यसलाई बदर गर्दै लामाले चलखेल गरेको भन्ने आरोप पनि छ। साथै, जग्गाको हकदारहरु दुर्गादेवी शाह र लोकदिव्यश्वरी शाहका नाममा अदालतले फैसला दिएको भए पनि लामाको गिरोहले पैसा लिएर काम नगरेको पीडितहरुको गुनासो छ।
स्थानीयले यस विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् भने सुरक्षाको माग समेत गरेका छन्। लामाले गरेको ठगी तथा बदमासीका सम्बन्धमा चार उजुरी कास्की प्रहरी कार्यालयमा दर्ता भइसकेको छ।
यस प्रकरणले पोखराको जग्गा व्यवस्थापन प्रणालीमाथि ठूलो प्रश्नचिन्ह उठाएको छ। सम्बन्धित निकायहरुले छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्नु आवश्यक रहेको स्थानीय तथा पीडितहरुले जोडदार माग गरेका छन्।















