Logo

काठमाडौँ — आज साउने सक्रान्ति देशभर स्नान, दान, पूजा र पारिवारिक भेटघाटका साथ मनाइँदैछ। सौरमासअनुसार साउन १ गते पर्ने साउने (कर्कट) सङ्क्रान्ति पर्व सूर्यले मिथुन राशिको यात्रा पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा मनाउने परम्परा प्राचीन कालदेखि चल्दै आएको छ। यही दिनबाट सूर्य दक्षिणायनमा प्रवेश गर्ने भएकाले हिन्दू धर्मशास्त्रमा यसलाई विशेष महत्व दिइन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई धार्मिक दृष्टिले अत्यन्त शुभ दिन मानिन्छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, असार महिनाभर खेतबारीमा हिलोमै काम गर्दा लाग्ने छालासम्बन्धी रोग ९लुतो आदि० हटाउन साउन १ मा विशेष परम्परा पालन गरिन्छ।

यस दिन परम्पराअनुसार ‘कण्डारक’ नामक राक्षसको प्रतीक पूजा गरी कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती जस्ता औषधीय वनस्पति प्रयोग गरेर लुतो फाल्ने चलन छ। नाङ्लो ठटाउने, शङ्ख फुक्ने, ढोका बन्द गर्ने, घण्टा बजाउनेजस्ता गतिविधि यो क्रममा गरिन्छ।

त्यस्तै, साउन महिनाभर महिलाहरूले हरियो चुरा, पोशाकलगायत श्रृङ्गार सामग्री लगाएर भगवान् शिवको पूजा गर्छन्। हरियो र रातो रंगका पहिरनहरूको बिक्री बढ्ने यो महिनालाई धार्मिक र सांस्कृतिक दुवै रूपमा विशेष मानिन्छ।


सम्बन्धित समाचार