१ साउन, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-१, लखनदेही पुल नजिक धानको भुस लोड गर्ने क्रममा ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवान रहेको प्रहरीले जनाएको छ। करेण्ट लागेर २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएका छन्।
बिहीबार (आज) बिहान पौने ७ बजे रौतहटबाट लालबन्दीस्थित न्यूँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकले भुस लोड गर्ने क्रममा ११ हजार भोल्टको बिजुलीको तार छोएको थियो। करेन्ट प्रवाहका कारण तीनै जना घाइते भएका थिए।
इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले घाइतेहरूलाई उद्धार गरी नमुना अस्पताल हरिवन पठाएको थियो। अस्पतालमा उपचारका क्रममा सहचालक दिनेश पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।















