१ साउन, काठमाडों । पोखराको १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रियामा परेको घुस लेनदेनको अडियो सार्वजनिक भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी आज पत्रकार सम्मेलन गर्दै छन्। मन्त्रीको सचिवालयका अनुसार पत्रकार सम्मेलन दिउँसो ३ बजे मन्त्रालय परिसरमै आयोजना गरिएको छ।
नयाँ अडियो क्लिपमा मन्त्री अधिकारी, उनका छोरा मनोज अधिकारी, तत्कालीन सामान्य प्रशासन सचिव अर्जुन पोखरेल र राजीनामा गरिसकेका मन्त्री राजकुमार गुप्तासम्मको संलग्नता रहेको दाबी गरिएको छ।
अडियोमा सुन्न सकिन्छ– पोखराको जग्गा मिलाउन ३२ लाख रुपैयाँ मन्त्री अधिकारीले छोरामार्फत लिएको भनिएको छ, भने मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख रुपैयाँ बुझेको भनिन्छ। जग्गा मिलाउन डेढ करोड रुपैयाँसम्म खर्च भइसकेको उल्लेख पनि अडियो संवादमा आएको छ।
यसअघि मंगलबार मात्रै सामान्य प्रशासन मन्त्री गुप्ताले अडियो प्रकरणकै कारण पदबाट राजीनामा दिएका थिए। गुप्तासँग जोडिएको अघिल्लो अडियोमा पनि बलराम अधिकारीको नाम बिचौलियाहरूले उच्चारण गरेका थिए, जसमा मन्त्री अधिकारीले प्रतिनिधिसभा बैठकमै असहमति जनाउँदै आरोपको खण्डन गरेका थिए।
जुन औँलामा विष लागेको हो, त्यही झर्छ, भन्दै उनले आफू निर्दोष रहेको दाबी संसदमै गरेका थिए। तर पछिल्लो अडियो क्लिपले विवाद थप गहिरिएको छ।
नयाँ अडियोमा गुप्ता, खेम पुन, दीपा र अन्यका नामसमेत उच्चारण हुँदै घुस डिलबारे स्पष्ट संवाद सुनिन्छ, जसले सरकारभित्रकै भूमिसम्बन्धी निर्णय प्रक्रियामा गम्भीर मिलेमतो र भ्रष्टाचारको संकेत गरेको छ।
यस घुस प्रकरणमा मन्त्री बलराम अधिकारीको भूमिकाबारे चासो चुलिएको छ भने आजको पत्रकार सम्मेलनले उनीमाथि लागेको आरोपको खण्डन वा स्वीकारोक्ति के रूपमा प्रस्तुत हुनेछ भन्ने विषयमा सबैको नजर केन्द्रित छ।
सरकारभित्रै दोहोरिंदै गरेका अडियो काण्डहरूका बीचमा मन्त्रीहरूकै संलग्नता देखिने र राजीनामा वा मौनता विकल्पमा सीमित हुन थालेको अवस्था राजनीतिक नैतिकताको नयाँ बहस बन्न थालेको छ।















