१ साउन,वीरगञ्ज । पर्सा जिल्लाका विभिन्न स्थानहरूमा देखिएको खानेपानी अभावलाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय, पर्साले खानेपानी वितरण कार्य सुरु गरेको छ। मधेश प्रदेश सरकारबाट उपलब्ध गराइएका ट्याङ्करहरू मार्फत आजदेखि नै पानी वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयानुसार, नेपाली सेनाको श्रीजंग गण, पर्साको सहकार्यमा बिहान ५ बजेदेखि राति १० बजेसम्म खानेपानी वितरण गरिनेछ। यसबाट लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय बासिन्दालाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
खानेपानीको समस्या भएका व्यक्ति वा टोलवासीहरूले जिल्ला विपद् व्यवस्थापन समितिको टोल फ्री हटलाइन नम्बर ९८५५०१७९९७ मा फोन गरेर जानकारी गराउन सक्नेछन्। यस्तै, थप जानकारी वा कुनै गुनासोका लागि प्रमुख जिल्ला अधिकारीको नम्बर ९८५५०७७७७७ मा समेत सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी यस सूचनाले पर्साका बासिन्दामा देखिएको खानेपानीको चर्को समस्यालाई तत्काल सम्बोधन गर्ने प्रयास स्वरूप यो कार्य अघि बढाइएको स्पष्ट पारेको छ।















