Logo

१ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा फर्काउने विषयमा पार्टीभित्र छलफल आवश्यक रहेको बताएका छन् ।

उनले भण्डारीलाई तत्काल नेतृत्व हस्तान्तरण गर्ने अवस्था नरहेको पनि स्पष्ट पारेका छन् । पत्रकार विजयकुमारसँगको एक अन्तर्वार्तामा ओलीले विद्या भण्डारीले एमालेमा फर्किनेबारे आफूसँग अहिलेसम्म कुनै सल्लाह नगरेको दाबी गरे। उनले भने, ‘उहाँले अरुसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसित कुनै सरसल्लाह गर्नुभएन। पार्टीमा आधिकारिक ढंगले सरसल्लाह, मौखिक वा लिखित केही गर्नुभएको छैन ।  उनले पार्टी बैठक बसेर भण्डारीको विषयमा निर्णय लिइने जानकारी दिए। ओलीले भण्डारी आफ्नै हिसाबले राष्ट्रपति नभएको र एमालेले नै पठाएको उम्मेदवार भएको उल्लेख गरे। राष्ट्रपति भएपछि उनले पार्टी छोड्नुपरेको र त्यसअघि उनी उपाध्यक्ष रहेको स्मरण गराए  ।

पार्टीको औपचारिक निर्णय आवश्यक

भण्डारीको विषयमा एमालेले औपचारिक निर्णय गर्छ भन्ने प्रश्नमा ओलीले ‘निर्णय त गर्नैपर्छ’ भन्दै जवाफ दिए । उनले भण्डारीले आफैंले प्रश्न उठाएर राजनीतिमा आउने कुरा गरेपछि, उहाँ आउनु हुन्छ कि हुँदैन, नैतिक रूपमा हुन्छ कि हुँदैन, गणतन्त्रमा, समाजमा, राजनीतिमा, व्यवस्थामा र स्वयं उहाँको जीवनमा यसले के असर पार्छ, यी सबै कुरा सोचेर पार्टीले उहाँलाई सुझाव वा निर्णय गर्ने बताए । कहिलेसम्ममा निर्णय हुन्छ भन्ने प्रश्नमा भने उनले ठोस जवाफ दिएनन्, तर ‘धेरै ढिला नगर्ने’ बताए । सार्वजनिक रूपमा बोलेका कुराहरूमा भण्डारीसँग सोधपुछ गरिने पनि उनले जानकारी दिए ।

नेतृत्व हस्तान्तरणको सम्भावना अस्वीकार

विजयकुमारले विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्नका लागि यो सुविचारित रणनीति हो कि भन्ने प्रश्न राख्दा ओलीले स्पष्ट शब्दमा अस्वीकार गरे। उनी हाँस्दै भने, ‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन । किनभने एक त राजनीतिमा आउनु हुन्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन । दोस्रो, पार्टी काम छोडेर धेरै वर्ष बाहिर बस्नुभएको र पहिले पनि लिडरसिपमा बसेर काम गरेको संगठनात्मक अनुभव उहाँसित छैन ।’

यस भनाइले विद्या भण्डारीको राजनीतिक पुनरागमन र एमालेभित्र उनको ‘स्पेस’ निर्माणको प्रयासलाई पार्टी नेतृत्वले सहजै स्वीकार नगर्ने संकेत दिएको छ।


सम्बन्धित समाचार