१ साउन,वीरगञ्ज । वीरगञ्ज क्षेत्रमा बढ्दो रगत अभाव र उपचारमा देखिएका चुनौतीहरू समाधान गर्न नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगञ्जको समन्वयमा गौतम स्कुलले आगामी शनिबार विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
‘एक घर, एक रक्तदाता’ भन्ने मूल नाराका साथ सञ्चालन हुने उक्त अभियानको उद्देश्य समाजमा रक्तदानको महत्त्वबारे व्यापक चेतना फैलाउनु र नियमित रक्तदानलाई संस्कारको रूपमा स्थापित गर्नु रहेको विद्यालयले जनाएको छ।
गौतम स्कुलका अनुसार विद्यालयमा अध्ययनरत २,१०० भन्दा बढी विद्यार्थीहरूलाई रक्तदानको प्रभाव, यसको स्वास्थ्यमा पर्ने सकारात्मक असर तथा आपतकालीन अवस्थामा कसरी रक्तदानले जीवन बचाउन सक्छ भन्नेबारे कक्षागत प्रशिक्षण दिइएको छ। विद्यार्थीहरूमार्फत अभिभावकसम्म सन्देश पु¥याउन पर्चा–पम्पलेट पनि वितरण गरिएको छ।
कार्यक्रमका आयोजकले भनेका छन्, “रगतको अभावका कारण धेरै बिरामीहरू समयमै उपचार पाउनबाट वञ्चित भइरहेका छन्। यदि हरेक घरबाट कम्तीमा एक जना व्यक्ति रक्तदाता बन्न सके, यसले दीर्घकालीन रूपमा ठूलो सामाजिक परिवर्तन ल्याउनेछ।”
कार्यक्रम यही शनिबार गौतम स्कुलको जुनियर विंगमा सञ्चालन हुनेछ। आयोजकले यस पुनीत कार्यमा सहभागी भई कोही बिरामीको जीवन बचाउन र सन्तानलाई सेवा, दया र मानवीयताको पाठ सिकाउन अभिभावक तथा नागरिकहरूलाई हार्दिक आह्वान गरेका छन्।
वीरगन्जमा हरेक वर्ष नियमित रूपमा रगत अभावको समस्या देखिने गरेकाले यसको समाधान सामूहिक सहभागिताबाट मात्रै सम्भव हुने आयोजकहरूको भनाइ छ। उनीहरूले रक्तदानलाई केवल एक सहायताको माध्यम नभई, जीवन रक्षाको महान कार्यका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
गौतम स्कुलले यो अभियान आगामी दिनमा समेत निरन्तरता दिँदै विद्यालय र समाजबीचको सम्बन्धलाई अझ बलियो बनाउने लक्ष्य लिएको जनाएको छ।















