१ साउन,काठमाडौं । गएको वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा देशभर २ हजार ६५ वटा विपद्जन्य घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परेर ९३ जनाले ज्यान गुमाएका छन् भने २२ जना अझै बेपत्ता छन्।
प्राधिकरणका प्रवक्ता तथा उपसचिव सुरेश सुनारका अनुसार, तीन महिनामा भएका विभिन्न प्राकृतिक तथा मानव–जन्य विपत्तिका कारण ४४५ जना घाइते भएका छन्। त्यस्तै, ४ हजार १३६ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
बाढी र पहिरो प्रमुख कारण
विसं २०८२ को पछिल्लो तीन महिनाको तथ्यांकअनुसार बाढीका १३७ घटना भएका छन्। तीमध्ये मात्र बाढीबाट १३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्। हालसम्मको सबैभन्दा ठूलो क्षति असार २४ गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको हो। उक्त घटना हिमताल विष्फोटका कारण भएको बताइएको छ।
त्यस्तै, १७५ वटा पहिरो घटनामा ६ जनाले ज्यान गुमाएका छन्। अन्य घटनामा चट्याङबाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२, र लेक लागेर ११ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
प्रभावित परिवार र अन्य क्षति
बाढीका कारण १,२४६ परिवार प्रभावित भएका छन् भने आगलागीका कारण १,०४८ परिवारले क्षति बेहोरेका छन्। त्यस्तै, पहिरो, चट्याङ्, भारी वर्षा, हावाहुरी, सर्पदंश र वन डढेलोजस्ता घटनाले सयौं परिवारलाई प्रभावित पारेको प्राधिकरणले उल्लेख गरेको छ।
प्राधिकरणका प्रवक्ता सुनारका अनुसार, यस्ता विपद् घटनाहरूले ठूलो मात्रामा जनधनको क्षति गरिरहेको र यसतर्फ सबै तहका सरकार र नागरिकको सचेतता तथा तयारी आवश्यक रहेको बताइएको छ।















