Logo

१ साउन,वीरगञ्ज । रसुवास्थित नेपाल–चीन सीमामा पर्ने भोटेकोसी नदीमा आएको बाढीले बेपत्ता बनाएका बाराका प्रहरी जवान मुन्ना ठाकुरको परिवारले उनको सकुशल उद्धारको माग गरेका छन्। असार २४ गते मंगलबार बिहान करिब ३ बजे आएको बाढीले १८ जना नेपाली र चिनियाँ नागरिकलाई बेपत्ता बनाएको थियो। बेपत्ता हुनेमध्ये बाराको फेटा गाउँपालिका–१, भलुही टोलका २४ वर्षीय प्रहरी जवान ठाकुर पनि रहेका छन्।

२०७८ सालमा नेपाल प्रहरीमा भर्ना भएका ठाकुर रसुवागढीमा कार्यरत थिए। जेठ ११ गते घर आएर केही दिनपछि उनी पुनः कार्यस्थल फर्किएका थिए। बाढीले बेपत्ता बनाएको नौ दिन बितिसक्दा पनि उनी अझै सम्पर्कविहीन छन्, जसले गर्दा परिवारमा निराशा र पीडा बढेको छ।

मुन्नाकी आमा सुनैना देवी छोराको प्रतीक्षामा दिनरात पर्खिरहेकी छिन्। मुन्नाकी पत्नी गुन्जा ठाकुरले पनि सम्बन्धित निकायलाई उद्धार कार्यमा थप सक्रियता देखाउन आग्रह गरेकी छन्। “अबको पोस्टिङ वीरगञ्ज भएको भन्दै केही दिनमा आउँछु भनेर भन्नुभएको थियो। ९ दिन भए पनि अत्तोपत्तो छैन,“ उनले भनिन्।

परिवारका अन्य सदस्यहरू समेत मानसिक तनावमा छन्। मुन्नाका ठूलोबुवा फुल्चन ठाकुरले राज्यसँग भतिजोको सकुशल उद्धार गर्न माग गरेका छन्।

खोजी कार्यमा खटिएको टोलीले अहिलेसम्म ७ जनाको शव फेला पारेको छ। तीमध्ये एक शव मुन्ना ठाकुरको हुन सक्ने आशंकामा उनका बुवाको डीएनए परीक्षणका लागि काठमाडौँ लगिएको छ। डीएनए परीक्षणको नतिजा आउन भने बाँकी छ।


सम्बन्धित समाचार