Logo

१ साउन,काठमाडौं । नेकपा एमालेको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियताको विषय प्रवेश गराएका छन्। पार्टीका सचिव योगेश भट्टराईका अनुसार अध्यक्ष ओलीले भण्डारीको राजनीतिक सक्रियता र भूमिका सम्बन्धी विषयमा आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका हुन्।

भट्टराईले भने, “अध्यक्षले उक्त विषय बैठकमा प्रवेश गराउनुभयो। आजको बैठकमा समय अभावका कारण पूर्ण छलफल हुन सकेन, तर आगामी बैठकमा गहिरो छलफल हुनेछ। यो विषय अब पार्टीभित्रको औपचारिक एजेन्डा बन्नेछ।”

पूर्वराष्ट्रपति भण्डारी पछिल्ला केही महिनादेखि विभिन्न राजनीतिक भेटघाट तथा सार्वजनिक कार्यक्रममा सहभागी हुँदै आइरहेकी छन्। यसले भित्रभित्रै एमालेमा पनि बहस सुरु भएको बताइएको छ।

भट्टराईले भने, “पार्टीमा सक्रिय हुनुभएको छ भने उहाँले आफ्ना लक्ष्य र उद्देश्य प्रष्ट पार्नुपर्छ। उहाँले सबै सेवा सुविधा त्याग गरेर पार्टीमा आउनुभएको छ भने त्यसलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्नुपर्छ। अध्यक्षले पनि त्यसबारे वार्ता गरेर उचित निर्णय लिनुपर्ने बताउनुभएको छ।”

सचिवालय बैठक दिउँसो २ बजे सुरु भएको हो। बैठकमा पार्टीको हालको राजनीतिक परिस्थिति, आगामी रणनीति, र विशेष कार्यक्रमहरूबारे पनि छलफल भइरहेको छ।

पूर्वराष्ट्रपति भण्डारीको सक्रियता एमालेभित्र एक राजनीतिक बहसको विषय बनेको छ भने नेतृत्व तहले यस विषयमा चाँडै निष्कर्ष निकाल्ने तयारी गरिरहेको देखिएको छ।


सम्बन्धित समाचार