Logo

२ साउन, वीरगञ्ज ।  वीरगञ्जस्थित बाल सुधार गृहमा चौकीदारका रूपमा कार्यरत प्रमानन्द गुप्ता ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (extortion) को गम्भीर आरोपमा पक्राउ परेका छन् ।

सिराहा जिल्लाको लहान नगरपालिका–३ निवासी २४ वर्षीय गुप्तालाई जिल्ला प्रहरी कार्यालय, पर्साले बुधबार नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, गुप्ताले बाल सुधार गृहमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका १० जना किशोर कैदीहरूलाई दबाब र प्रभावमा पार्दै रु १० लाख १५ हजार ३ सय ७० रुपैयाँ बराबरको रकम नगद र ई–सेवा मार्फत असुलेका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिएअनुसार, गुप्ता स्वयं पनि लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका व्यक्ति हुन्। उनी सुधार गृहमा चौकीदारको जिम्मेवारीमा रहँदै पीडितहरूबाट रकम असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गुप्ता २०८२ साल असार ३२ गते कैद अवधि सकिएपछि बाल सुधार गृहबाट छुटेका थिए। उनलाई छुटेपछि पीडित किशोरहरूले बाल सुधार गृह प्रशासन र प्रहरी समक्ष उजुरी दिँदै न्यायको माग गरेका थिए। उजुरी प्राप्त हुनासाथ प्रहरीले गुप्तालाई नियन्त्रणमा लिई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ ।

डिएसपी लम्सालले भने, “सुधार गृह जस्तो संवेदनशील संस्थाभित्रै त्यहाँ कार्यरत व्यक्तिबाट यस प्रकारको आपराधिक कार्य हुनु अत्यन्तै गम्भीर विषय हो । पीडित बालकहरूको उजुरीका आधारमा निष्पक्ष अनुसन्धान भइरहेको छ ।”


सम्बन्धित समाचार
भर्खरै