३ साउन,बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका वडाहरूमा वन्यजन्तुको बस्ती प्रवेश रोक्न पक्की छेकबार पर्खाल निर्माण गरेको छ। हात्ती, बाघ, चितुवा जस्ता जनावरबाट बारम्बार मानवीय तथा भौतिक क्षति भइरहेकाले नगरपालिकाले चालु आर्थिक वर्षमा यो पहल अघि बढाएको हो।
नगरपालिकाका अनुसार आर्थिक वर्ष ०८१/०८२ मा वडा नं. १, ४ र ७ मा गरी २ हजार ३ सय ३१ मिटर हात्ती छेकबार पर्खाल निर्माण गरिएको छ। समग्रमा हालसम्म ११ किलोमिटरभन्दा बढी दूरीमा पर्खाल निर्माण भइसकेको छ।
स्थानीयबासीको लामो समयदेखिको मागअनुसार पक्की पर्खाल निर्माण भएपछि जनताले एक प्रकारको राहत महसुस गरेका छन्। “पहिले बाँस वा काँडेतारको भरमा बनाइएका छेकबारले वन्यजन्तु रोक्न सकेनन्,” एक स्थानीयवासीले भने, “तर अहिलेको पक्की पर्खालले प्रभावकारी सुरक्षा दिएको छ।”
यसअघि वन्यजन्तु बस्तीमा पस्दा घरपालुवा पशु चौपाया, अन्नबाली तथा जनधनमा क्षति पुग्ने गरेको थियो। हात्तीले खेतबारी र घर भत्काउने, बाघ–चितुवाले जनावरको आक्रमण गर्ने घटनाहरू बारम्बार हुने गर्थे।
नगरपालिकाले आगामी वर्षका लागि पनि थप छेकबार निर्माण गर्ने योजना बनाएको छ। “जंगलसँग जोडिएका क्षेत्रमा पर्खाल विस्तार गर्दै लैजानेछौं,” ठाकुरबाबा नगरपालिकाले जनाएको छ, “वन्यजन्तुसँगको सहअस्तित्वका लागि सुरक्षित सीमांकन अत्यावश्यक छ।”
यसले वन्यजन्तु र मानव बस्तीबीचको द्वन्द्वलाई न्यून गर्दै दीर्घकालीन समाधानमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।















