३ साउन, वीरगञ्ज । अनेरास्ववियु क्याम्पस इकाइ समितिले वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रम अन्तर्गत क्याम्पसको नवनिर्मित प्रशासनिक भवन वरिपरि र अन्य स्थानहरूमा विभिन्न जातका विरुवाहरू रोपिएका हुन्।
हरियाली वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य आशिफ अहमद प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रम इकाइ अध्यक्ष अरमान आलमको अध्यक्षतामा सम्पन्न भएको हो।
वृक्षारोपण कार्यक्रममा अनेरास्ववियु विद्यार्थी विभाग प्रमुख रियाज अन्सारी, जिल्ला अध्यक्ष सुजित मण्डल, सचिव पुकार सुबेदी, अमान अन्सारी लगायतको पनि सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्तो गतिविधिले वातावरण संरक्षणमा सन्देश दिने र क्याम्पस वातावरण अझै सुन्दर र हरित बनाउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमका क्रममा वक्ताहरूले युवाहरूलाई वातावरणीय सचेतना फैलाउन अग्रसर हुन आग्रह गरे। क्याम्पस प्रशासनले पनि वृक्षारोपण अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै भविष्यमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ।















