४ साउन, काठमाडौं । सर्वोच्च अदालतमा आज एउटा मात्र इजलास तोकिएको छ।
नयाँ आर्थिक वर्ष सुरु भएपछि अघिल्लो आर्थिक वर्षका आन्तरिक तथ्यांक मिलाउनुपर्ने भएकाले यस्तो व्यवस्था गरिएको हो । आज न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलास मात्र सञ्चालनमा रहनेछ। यस इजलासमा तीन बन्दी प्रत्यक्षीकरणसहित जम्मा सात थान मुद्दा पेसीमा राखिएका छन् । सर्वोच्च अदालतका प्रवक्ता एवं सह(रजिस्ट्रार अच्युत कुईकेलका अनुसार, साउन ७ गतेसम्म एउटै मात्र इजलास तोकिनेछ ।
किन एउटै इजलास?
कुईकेलका अनुसार, हरेक नयाँ आर्थिक वर्षको सुरुवातमा देशभरका अदालतहरूले अघिल्लो आर्थिक वर्षका विभिन्न आन्तरिक डाटा समायोजन गर्ने गर्छन् । यसका लागि सामान्यतया एक देखि दुई साताको समय लाग्ने भएकाले यस अवधिमा सीमित इजलास मात्र सञ्चालनमा आउने गर्छन् । यस एकल इजलासले मुख्यतया बन्दी प्रत्यक्षीकरण र अन्तरिम आदेश माग गरिएका रिट निवेदनहरू हेर्नेछ । यदि कुनै मुद्दामा आदेश दिएर अर्को दिन संयुक्त इजलास बस्नुपर्ने भए पनि यस अवधिमा संयुक्त इजलास बस्न नसक्ने कुईकेलले स्पष्ट पारेका छन् ।
यो व्यवस्थाले अदालतको आन्तरिक व्यवस्थापनलाई सहज बनाउने भए पनि मुद्दाको सुनुवाइमा भने केही समय ढिलाइ हुन सक्ने देखिन्छ।















