Logo

४ साउन, वीरगञ्ज । पर्सा जिल्लामा गत आर्थिक वर्ष २०८१/०८२ मा चालु खर्च ९४.९३ प्रतिशत र पुँजीगत खर्च ६६.२५ प्रतिशत मात्रै भएको कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ।

यसले जिल्लाको विकास आयोजना कार्यान्वयनमा सुस्तता र बजेट व्यवस्थापनमा चुनौती रहेको देखाएको छ। कार्यालयका अनुसार, गत आर्थिक वर्ष २०८१/०८२ को असार ३१ गतेसम्ममा चालु खर्चः विनियोजित बजेट ११ अर्ब ८ करोड ६७ लाख ८ हजार १६१ रुपैयाँमध्ये १० अर्ब ५२ करोड ४१ लाख १४ हजार ३८८ रुपैयाँ ७७ पैसा खर्च भएको छ।

यो कुल विनियोजनको ९४.९३% हो। पुँजीगत खर्चः विनियोजित बजेट २ अर्ब ७९ करोड ५० लाख ५३ हजार ७५० रुपैयाँमध्ये १ अर्ब ८५ करोड १६ लाख २९ हजार २४२ रुपैयाँ ६० पैसा खर्च भएको छ। यो कुल विनियोजनको ६६.२५% हो, जसलाई सन्तोषजनक मानिएको छैन।

विज्ञहरूका अनुसार, पुँजीगत खर्चमा अपेक्षित प्रगति नदेखिनु चिन्ताको विषय हो। यसले पूर्वाधार विकास र आर्थिक वृद्धिमा प्रत्यक्ष असर पार्न सक्छ। चालु खर्च उच्च हुनु र पुँजीगत खर्च कम हुनुले स्रोतको कुशल व्यवस्थापनमा कमी रहेको देखाएको छ ।

हरेक वर्ष पुँजीगत खर्च बढाउने र विकास निर्माणका कार्यलाई तीव्रता दिने भनिए तापनि यसमा सुधार आउन सकेको छैन। खर्चको प्रवृत्तिमा सुधार नआएसम्म विकासको गति अगाडि बढ्न सक्ने अवस्था रहदैन ।


सम्बन्धित समाचार