Logo

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भदौ ३१ मा तय भएको छ । यस भ्रमणमा ओली नयाँ दिल्ली पुग्नेछन् र त्यसको भोलिपल्ट अर्थात् असोज १ मा फर्कने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट ओलीलाई दुई दिने औपचारिक भ्रमणको निमन्त्रणा आएको छ । यो भ्रमण ओलीको अहिलेसम्मकै छोटो भारत भ्रमण हुने अनुमान गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार, यस पटकको भ्रमणमा ठूला एजेन्डा भन्दा पनि द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्ने, पूर्व समझदारीहरूलाई निरन्तरता दिने र नयाँ परियोजनाहरू अघि बढाउने विषयहरूमा ध्यान केन्द्रित हुनेछ ।

भ्रमणअघि दिल्लीमा दुईपक्षीय सीमा व्यवस्थापन समूहको गृहसचिवस्तरीय बैठक बस्नेछ । नेपालले यस बैठकको तयारी सुरु गरिसकेको छ भने आज बीडब्लुजी बैठक तयारीका लागि छलफल भइरहेको छ ।

यसअघि गत चैतमा बैंककमा भएको बिमस्टेक बैठकको अवसरमा ओली र मोदीबीच भएको एक्लाएक्लै भेटमा नेपाल–भारत सीमा, चुच्चे नक्सा लगायतका संवेदनशील विषयहरू उठेका थिए, जसले यसपल्टको भ्रमणको सुरुआतमै ध्यान खिच्नेछ ।

नेपालले आफ्नो संविधान संशोधन गरी लिम्पियाधुरा, लिपलेख नक्सा उल्लेख गरेपछि भारतले असन्तुष्टि जनाउँदै आएको छ । प्रधानमन्त्री ओलीको पहलमा सबै दलहरूको सहमतिमा यो संशोधन गरिएको थियो ।

यसैगरी, आगामी कात्तिकमा मोदी काठमाडौं आउन सक्ने सम्भावना छ । मोदीले काठमाडौं भ्रमण नगरे नेपालका कुनै धार्मिक, पर्यटकीय वा व्यापारिक स्थलमा आउने र त्यहाँ ओलीले स्वागत गर्ने पनि योजना बनाइएको छ । मोदीको यो भ्रमण पनि छोटो हुने अनुमान गरिएको छ ।


सम्बन्धित समाचार