Logo

४ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह थप चर्कंदै निर्वाचन आयोगसम्म पुगेको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कारबाहीमा परेका उपाध्यक्ष मुकुन्दश्याम गिरीले आफूलाई ‘अवैधानिक रुपमा’ पदमुक्त गरिएको भन्दै आज निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन्। महामन्त्री डा. धवलशम्शेर राणा लगायत आफू निकट नेता तथा कार्यकर्ताको साथमा आयोग पुगेका गिरीले पार्टीलाई प्रक्रियागत र विधानअनुसार सञ्चालन गर्न माग गर्दा आफूलाई कारबाही गरिएको दाबी गरेका छन्। ‘पार्टीलाई विधान अनुसार चलाउन खोज्दा अवैधानिक रुपमा कारबाही गरिएको छ, त्यसैले आयोग गुहारेको छु,’ गिरीले प्रतिक्रिया दिएका छन् ।

यो विवाद राप्रपाभित्र अध्यक्ष लिङ्देन र असन्तुष्ट समूहबीचको शक्ति संघर्षको पछिल्लो कडी हो । गिरीलाई गरिएको कारबाही फिर्ता लिन राप्रपाकै इतर समूह र कर्णालीबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले यसअघि नै अपिल गरिसकेका छन् ।

यसअघि अनुशासन समिति संयोजकबाट हटाइएका नवराज सुवेदीले पनि आफूमाथिको कारबाही अवैधानिक भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए। यसरी पार्टीका शीर्ष नेताहरूबाटै लगातार निर्वाचन आयोगमा उजुरी पर्नुले राप्रपाभित्रको विवादले गम्भीर मोड लिएको स्पष्ट हुन्छ।

 


सम्बन्धित समाचार