४ साउन, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) को नियमित मर्मत सम्भार र क्षमता विस्तारका कारण केही सेवाहरू आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ। मर्मत कार्य सम्पन्न नभएसम्मका लागि अनलाइन सेवाहरू प्रभावित हुने विभागले एक सूचनामार्फत जानकारी गराएको छ।
विभागका अनुसार, मर्मत कार्य पूरा नभएसम्म अनलाइन मार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने (Citizens Data Update) सेवा, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त (NIN Generate) हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बर/जैविक विवरणबाट प्रमाणीकरण (NIN/Biometric Verification) सेवा, र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) सँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरू प्रभावित हुनेछन्।
यद्यपि, सेवाग्राहीहरूलाई राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरणसम्बन्धी कार्य अफलाइन माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको विभागले स्पष्ट पारेको छ। सबै राष्ट्रिय परिचयपत्र सेवा इकाई (NID Station) हरूलाई सोहीबमोजिम कार्य गर्न निर्देशन दिइएको छ।
अफलाइन मार्फत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका सेवाग्राहीहरूलाई अनलाइन सेवा सुचारु भएपश्चात राष्ट्रिय परिचय नम्बर (National ID No. NIN) एसएमएस मार्फत उपलब्ध गराइनेछ।विभागले सेवा आंशिक रूपमा अवरुद्ध हुँदा सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ। मर्मत कार्य सम्पन्न हुनासाथ सबै सेवाहरू सुचारु हुने पनि विभागले जनाएको छ।


















