Logo

४ साउन, काठमाडौं । यस वर्ष नेपालमा धान रोपाइँको गति सुस्त देखिएको छ, जसले आगामी बाली उत्पादनमा असर पर्ने चिन्ता बढाएको छ।

कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको कृषि विभागको पछिल्लो तथ्यांकअनुसार, साउन ४ गतेसम्म देशभर कुल ७२ दशमलव १४ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सम्पन्न भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा निकै कम हो, जहाँ ८४।६ प्रतिशत रोपाइँ भइसकेको थियो ।

मधेशमा खडेरीको असरः सबैभन्दा कम रोपाइँ

धान खेतीका लागि सबैभन्दा महत्त्वपूर्ण मानिने मधेश प्रदेशमा अवस्था झनै चिन्ताजनक छ। प्रदेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये आइतबारसम्म जम्मा ४६ प्रतिशत (१ लाख ७४ हजार ५ सय ८ हेक्टर) भूभागमा मात्र रोपाइँ भएको छ। सुक्खा र सिँचाइको अभावले मधेशमा रोपाइँ अत्यधिक प्रभावित भएको कृषि विभागले जनाएको छ।

अन्य प्रदेशको अवस्था ?

मधेशपछि धान खेतीमा दोस्रो ठूलो मानिने लुम्बिनी प्रदेशमा भने सन्तोषजनक रूपमा ८७ दशमलव ९३ प्रतिशत रोपाइँ भएको छ। कोशी प्रदेशमा ६१ दशमलव ७९ प्रतिशत, बागमतीमा ८७ दशमलव १९ प्रतिशत, गण्डकीमा ७९ दशमलव २८ प्रतिशत र कर्णालीमा लुम्बिनीकै हाराहारीमा ८७ दशमलव ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कोशी प्रदेशको २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये १ लाख ७० हजार ७९० हेक्टरमा मात्र रोपाइँ भएको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशमा पनि अधिकांश रोपाइँ सकिएको तथ्यांकले देखाउँछ।

समग्रमा, यस वर्ष समयमा मनसुन सक्रिय नहुनु र कतिपय क्षेत्रमा सिँचाइको अभावका कारण धान रोपाइँमा ढिलाइ भएको छ। यसले आगामी दिनमा धान उत्पादनमा कस्तो असर पार्छ भन्नेमा कृषि विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

 


सम्बन्धित समाचार