४ साउन,वीरगञ्ज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ सिद्धपुरस्थित राष्ट्रिय वनको जग्गामा वन कार्यालयले शनिबार गाडेको सीमांकन (किलाखुटा) आइतबार स्थानीय जनप्रतिनिधिहरूले उखलेर फालिदिएका छन्।
करिब ५ बिघा क्षेत्रफलमा फैलिएको उक्त जग्गा वर्षौँदेखि भूमिहीन दलित समुदायले खेतीपाती गर्दै उपभोग गर्दै आएका थिए। वन कार्यालयले कुनै पूर्वसमन्वय वा सूचना नदिई उक्त जग्गामा सीमांकन गरेपछि स्थानीयहरू आक्रोशित बनेका थिए।
आइतबार गाउँपालिका अध्यक्ष यशवन्त यादव, वडाध्यक्ष वासुदेव महतो थारु, पूर्व गाविस अध्यक्ष लालदेव उराव र कार्यपालिका सदस्य बाबुराम उरावसहितको टोली घटनास्थल पुगेको थियो। उक्त टोलीले वन कार्यालयको सीमांकन हटाएर विरोध जनाएको छ।
अध्यक्ष यादवले भने, “सिद्धपुरमा करिब दुई सय पचास घरधुरी उराँव समुदाय बसोबास गर्छन्, जसको नाममा एक धुर पनि जग्गा छैन। उनीहरूले पुस्तौँदेखि सोही जग्गा खनजोत गर्दै जीविका चलाउँदै आएका छन्। वनको टोलीले पूर्वसहमति विना जग्गामा किलाखुटा गाड्नु अन्यायपूर्ण हो, त्यसैले हामीले उखलेर फाल्यौं।”
उनले चेतावनी दिँदै भने, “भूमिहीन दलितहरूका लागि वैकल्पिक व्यवस्था नभएसम्म वन कार्यालयले सो जग्गामा कुनै हस्तक्षेप गर्न नपाउनेछ।”
स्थानीय महिला सहंशा उरावले पनि राज्यबाट गरिने यस्तो व्यवहारप्रति गुनासो गर्दै भनिन्, “हाम्रो दुई पुस्ताको जीवन यही खेतमा बितेको हो। अहिले वनको नाममा उठिबास लगाउने खेल सुरु भएको छ।”
पूर्व गाविस अध्यक्ष लालदेव उरावले पनि वन कार्यालयको कदमलाई जनविरोधी भन्दै विरोध जनाए। उनले भने, “पहिला भूमिहीनका लागि वैकल्पिक व्यवस्था गर, अनि मात्रै आफ्नो काम गर। नत्र हामी स्वीकार गर्दैनौं।”
स्थानीय तहका जनप्रतिनिधिहरूले सामूहिक रूपमा उक्त कदमलाई दलित समुदायमाथिको अन्यायको रूपमा व्याख्या गर्दै, समाधान नभएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।















