Logo

५ साउन, जनकपुर । महोत्तरीका २८ वर्षीय बिमलेश यादवको हत्या विवाहेत्तर सम्बन्ध र आर्थिक लेनदेनको विवादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

शनिबार राति ९स्५५ बजे जनकपुरको होटल एसपी एण्ड गेष्टहाउस मा एक युवतीसँग प्रवेश गरेका यादव आइतबार बिहान २स्५७ बजे नग्न र गम्भीर घाइते अवस्थामा होटलको पहिलो तलाबाट खसेका सिसीटिभी फुटेजमा देखिन्छ। पाँच मिनेटपछि ती युवती तल ओर्लिएर पीडितको छेउबाट भागेकी दृश्य पनि क्यामेरामा कैद छ।

घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। यादवले एम्बुलेन्समा चढ्नु अघि प्रहरीलाई बयान दिएका थिए। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो जहाँ आइतबार बिहान ७स्४५ बजे मृत्यु भएको पुष्टि गरिएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीकी जुली झालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूमध्ये पहिले नै आपसी सम्बन्ध रहेको, तर पछिल्लो समय आर्थिक विवादका कारण सम्बन्ध बिग्रिएको खुल्न आएको छ।

परिवारका अनुसार विमलेश वैदेशिक रोजगारीमा रहँदा जुलीलाई करिब २७ लाख रुपैयाँ पठाएको पुष्टि गर्ने भौचर पनि प्रहरीले बरामद गरेको छ। सिसीटिभी फुटेज, युवतीसँगको सोधपुछ र घटनास्थलबाट प्राप्त प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

यसैबीच, पीडित पक्षले होटलको सिसीटिभी १७ सेकेण्डका लागि बन्द भएको र त्यो समयमा के भयो भन्ने स्पष्ट हुन नसकेको भन्दै अनुसन्धान थप फराकिलो बनाउन माग गरेका छन्।


सम्बन्धित समाचार