Logo

५ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा ‘कमब्याक’ लाई लिएर नेकपा एमालेभित्र ठूलै रस्साकस्सी चलिरहेको छ।

आइतबार च्यासलमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र भण्डारीबीच भएको डेढ घण्टा लामो वान–टु–वान वार्ताले यस विवादलाई थप रहस्यमय बनाएको हो। स्रोतका अनुसार, ओली भण्डारीलाई ‘पूर्वराष्ट्रपति’को हैसियतमै सीमित राख्न चाहन्छन् भने भण्डारी आफू अगाडि बढिसकेको अडानमा छिन्।

भण्डारीको पार्टी सदस्यता र उनको भावी जिम्मेवारी नै वार्ताको मुख्य एजेन्डा रहेको बुझिएको छ। बालुवाटार स्रोतका अनुसार, ओलीले १० वर्ष पार्टी राजनीतिबाट बाहिर रहेर सदस्यता त्यागेको व्यक्तिले स्रेस्तामा नाम चढाएर मात्रै नवीकरण नहुने स्पष्ट पारेका छन्। यसअघि ओलीले पोलिटब्युरो बैठकमा भण्डारीको सदस्यता र जिम्मेवारीबारे संस्थागत निर्णयअघि छलफल गर्ने बताएका थिए । त्यसपछि यो भेट तय भएको थियो। भण्डारी पक्षका नेताहरूका अनुसार पोलिटब्युरो बैठकमा आफ्नो पक्षको आवाज कमजोर भएको महसुस गरेपछि भण्डारीले नै ओलीसँग भेटका लागि पहल गरेकी थिइन्। स्रोतका अनुसार भेटमा ओलीले भण्डारीलाई अब तपाई सक्रिय राजनीतिमा नआउनुस् भनेका थिए भने जवाफमा भण्डारीले म अघि बढिसके भनेकी थिइन् ।

भण्डारीले आफ्ना निकटस्थहरूलाई बताएअनुसार, ओलीले उनलाई पूर्वराष्ट्रपतिकै हैसियतमा सम्मानसाथ बस्न सुझाएका थिए। एमालेले संस्थागत निर्णय गरेर पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्काउँदा व्यवस्थाप्रति नै पार्टीको निष्ठामाथि सार्वजनिक प्रश्न उठ्ने ओलीको तर्क थियो । ओलीले विधान परिवर्तन, सदस्यता पेण्डिङ गरी भण्डारीलाई रोक्ने कोशिस गरिसकेका छन् । भेटवार्तामा पनि उनले भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने आशयको धारणा राखेका हुन् ।

सदस्यता नवीकरण विवाद र ओलीको असन्तुष्टि

भण्डारीले पार्टीका पछिल्ला बैठकमा आफूमाथि भएको टिप्पणी र सदस्यता नवीकरणलाई विवादित बनाइएकोमा असन्तुष्टि जनाएकी छिन्। यद्यपि, बालुवाटार स्रोतले भने भण्डारीले सदस्यता नवीकरणको प्रक्रियामा आफूबाट त्रुटि भएको स्वीकार गरेको दाबी गरेको छ। च्यासलबाट निस्किँदै भण्डारीले ‘राष्ट्रिय राजनीतिको विषयमा मात्रै कुरा भएको’ दाबी गरेकी थिइन्। भण्डारी पक्षका नेताहरू भने सदस्यता नवीकरण प्राविधिक विषय भएको र यसको प्रतिवाद गर्ने तयारीमा छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले यसअघि नै महासचिव शंकर पोखरेलले नवीकरण एक वर्षअघि नै भएको स्वीकार गरिसकेको भन्दै यो विषयलाई अनावश्यक रूपमा उछालेको आरोप लगाएका छन्।

मदन भण्डारी फाउण्डेशनमार्फत देशव्यापी अभियानमा विद्या

गत असार ३ गते बालुवाटार भेटमा भण्डारीले पार्टी पोलिटिक्समा फर्किने बताउँदा ओलीले ठोस जवाफ दिएका थिएनन्। त्यसपछि असार १४ गते ओलीकै सामु सार्वजनिकरूपमा एमालेको सदस्यता नवीकरण गरेको घोषणा गर्दै एक टीभी अन्तर्वार्तामा अबको नेतृत्व लिने गरी अघि बढेको खुलेरै बताएपछि ओली चिढिएको बताइन्छ। हाल विद्यादेवी भण्डारी मदन भण्डारीको ७५ औं जयन्ती मूल व्यवस्थापन समिति गठन गरेर ‘मदन भण्डारी फाउण्डेशन’ मार्फत् देशव्यापी अभियानमा होमिएकी छिन्। समितिका अधिकांश सदस्यहरू विद्या भण्डारी एमालेको नेतृत्वमा आउनुपर्छ भनेर अभियान चलाउनेहरू छन् ।


सम्बन्धित समाचार