५ साउन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा दोषी ठहर भई फरार रहेका राजकुमार तिम्सिनालाई इटहरीबाट पक्राउ गरिएको छ।
सर्वोच्च अदालतले ६ महिना कैद सजाय सुनाएपछि फरार रहेका तिम्सिनालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार, तिम्सिना इटहरी–५ पचरुकीमा दुई महिलाबीचको लेनदेन विवादमा जोडिएपछि पक्राउ परेका थिए। सुरुमा उनले आफ्नो नाम र ठेगाना लुकाउने प्रयास गरेका थिए ।
प्रहरी कार्यालय ल्याइएपछि मात्रै परिचयपत्र हेर्दा उनी सर्वोच्च अदालतबाट कैद सजाय पाएका फरार अभियुक्त भएको खुलासा भएको थियो। गोदावरी १० ललितपुर ठेगाना भएका तिम्सिना सर्वोच्चको फैसलापछि पूर्वी क्षेत्रमा बस्दै आएका थिए। प्रहरीसँगको बयानमा उनले आफू धनकुटामा बसेर काठको काम गर्दै आएको बताएका छन्।
सर्वोच्चको फैसला र आगामी प्रक्रिया
सर्वोच्च अदालतको बृहत पूर्णइजलासले गत असोज १४ गते राजकुमार तिम्सिनालाई ‘डार्क फाइल’ फेक अडियो प्रकरणमा ६ महिना कैदको फैसला सुनाएको थियो। डीएसपी भण्डारीले तिम्सिनालाई फैसला कार्यान्वयनका लागि कारागार पठाउने तयारी भइरहेको जानकारी दिएका छन्।















