Logo

५ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय च्यासलमा जारी छ।

आजबाट सुरु भएको बैठकमा पार्टीका दुई महत्वपूर्ण प्रतिवेदन पेस गरिएका छन् भने अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिबारे ‘मौखिक ब्रिफिङ’ गरेका छन् । बैठकमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन पेस गरेका छन्। यसले पार्टीको आगामी सांगठनिक ढाँचा र नीतिगत विषयमा महत्वपूर्ण परिवर्तनको संकेत गरेको छ ।

त्यस्तै, महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गरेका हुन्, जसमा पार्टीको हालको सांगठनिक अवस्था र भावी योजनाबारे उल्लेख गरिएको छ । पार्टीका पोलिटब्युरो सदस्य सूर्य थापाका अनुसार, बैठकको सुरुवातमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिबारे ब्रिफिङ गरेका थिए । यस क्रममा उनले माओवादी केन्द्रसँगको एकतादेखि कम्युनिष्ट आन्दोलनमा देखिएका समस्याहरू र माधव नेपाल(झलनाथ खनाल लगायतका नेताहरूले दिएको धोका लगायतका विषयमा आफ्नो धारणा राखेका छन् ।

आजै केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आफ्नो धारणा राख्नेछन् । बैठकस्थल पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरूलाई प्रवेशमा रोक लगाइएको छ, जसका कारण उनीहरू गेटबाहिरै कुरिरहेका छन्। यस बैठकले एमालेको आन्तरिक राजनीतिमा नयाँ मोड ल्याउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार