Logo

६ साउन,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिस्ट प्रधानमन्त्रीहरू भ्रष्टाचार र कमिसनप्रथाबाट अछुतो रहन नसकेको टिप्पणी गरेका छन्।

पुष्पलाल स्मृति दिवसको अवसरमा माक्र्सवादी अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका शर्मा ले केवल मनमोहन अधिकारी मात्रै यस्ता नेता थिए जो कमिसन, दलाली र असुलीप्रथाबाट अलग रहन सफल भए भन्ने निष्कर्ष सार्वजनिक रूपमा प्रस्तुत गरे।

उनले भने, “प्रधानमन्त्री स्वयं इमानदार भए र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने हो भने देशको आधा भ्रष्टाचार आफै घट्छ। तर, हाम्रो नेतृत्वले त्यो नैतिक आँट देखाउन सकेन।“

शर्माका अनुसार, नेपालमा अहिलेसम्म ९ पटक कम्युनिस्ट नेतृत्वको सरकार बने पनि सिद्धान्तअनुसार काम गर्न नसकेको विडम्बनात्मक तथ्य रहेको छ। उनले खुलासा गरे, “यो आरोप होइन, अनुभव र यथार्थको निष्कर्ष हो—अधिकांश कम्युनिस्ट नेताहरू असुलीधन्दामा लागे।“

शर्माले हालका कानुनी संरचनाहरू दलाल पुँजीवाद र ठूला व्यापारीहरूको पक्षमा लेखिएको आरोप लगाए। उनले सत्ताका लागि कम्युनिस्टहरूले राज्य पुनःसंरचनाको एजेन्डासमेत त्यागेको गुनासो गरे।

कार्यक्रममा बोल्दै उनले स्वीकार गरे कि संविधानले समाजवाद निर्माणको जिम्मा दिएको भए पनि त्यसलाई पूरा गर्न कम्युनिस्टहरूले असफलता ब्यहोरेको छन्।

शर्माका टिप्पणीहरू हालको सत्ता समीकरण र कम्युनिस्ट दलभित्र बढ्दो असन्तोषको संकेतका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार