६ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषयलाई लिएर नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा चर्को बहस चलिरहेका बेला भण्डारीले भने आफू अब पछि नहट्ने स्पष्ट पारेकी छन्।
मंगलबार बुढानीलकण्ठस्थित आफ्नै निवास भंगालमा पुगेका सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको र अब ‘पछि हट्ने कुरा हुँदैन’ भनी प्रस्ट पारेकी हुन् । उनीनिकट स्रोतका अनुसार, भण्डारीले वर्तमान अवस्थामा कार्यकर्ताहरूलाई जसरी आतंकित पार्ने काम भइरहेको छ, त्यो ठीक नभएको पनि बताएकी छन् । यसले एमालेभित्र भण्डारीको पुनरागमनलाई लिएर थप विवाद चर्कने संकेत गरेको छ।















