६ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा गणतन्त्र स्थापनाका लागि सङ्घर्ष गरेका दलहरूप्रति नै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले राजतन्त्र फाल्न सफल भएका क्रान्तिकारी शक्तिहरूले समेत भ्रष्टाचार नियन्त्रण गर्ने र ‘घुस खान नसकिने’ राज्य संयन्त्र निर्माण गर्न नसकेकोमा दुःख व्यक्त गरे । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै भुसालले भने, “हामीले पञ्चायतकालका विरुद्ध लड्यौँ । राजतन्त्र फालेर गणतन्त्र ल्याउन सक्यौँ। ठुल्ठुला आन्दोलनमार्फत क्रान्तिकारी पार्टी बनाउन सक्यौँ। तर, घुस नखाने राज्य संयन्त्र बनाउन नसकिने रहेछ ।
घुस खाने र पार्टी कब्जा गर्न गुटबन्दी नगर्न नसकिने रहेछ ।” भुसालले पञ्चायतकालमा दरबार आफैँ दलाल पुँजीवादको प्रतिनिधि रहेको र कम्युनिस्ट पार्टीले राजाको विरुद्ध नभई दलाल पुँजीवादको विरुद्ध सङ्घर्ष गरेको स्मरण गराए । उनले वर्तमान अवस्थाप्रति व्यङ्ग्य गर्दै थपे, “आज पनि दलाल पुँजीवादसँग मिलेर घुस खान सकिन्छ । त्यत्रा ठुला काम गर्न सकिन्छ। तर, आफ्ना छोराछोरीलाई रोजगारी दिन सकिँदैन । सुशासन बनाउन सकिँदैन।”
महासचिव भुसालको यो भनाइले नेपाली राजनीतिमा व्याप्त भ्रष्टाचार र कुशासनप्रति कम्युनिस्ट आन्दोलनभित्रैबाट समेत गम्भीर असन्तुष्टि रहेको देखाउँछ । राजनीतिक परिवर्तनपछि पनि जनताले अपेक्षा गरेजस्तो सुशासन स्थापित हुन नसकेको यथार्थलाई यसले उजागर गरेको छ ।















