७ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य अझै उज्ज्वल रहेको बताएका छन् ।
बुधवार कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनौती आए भन्दै निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका हुन् । अध्यक्ष नेपालले चुनौतीहरूबाट भाग्नुको सट्टा तिनको सामना गर्दै आफ्नो उद्देश्यतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले यसरी मात्र सही विचार प्राप्त गर्न सकिने बताएका छन् । उनको भनाइअनुसार पार्टीका आन्तरिक विषयहरू पार्टी बैठकभित्रै छलफल गर्नु उपयुक्त हुन्छ। पार्टीविरुद्ध कसैले निराशा फैलाउने, जथाभाबी बोल्ने वा अनुशासन तोड्ने प्रयास गरेमा त्यसको सशक्त प्रतिवाद गरिनुपर्छ भन्नेमा उनले जोड दिए ।
पार्टीलाई अनुशासित ढङ्गले अगाडि बढाउन सकेमा मात्र जनतामा आशा जगाउन सकिने उनको विश्वास छ। अध्यक्ष नेपालले समाजको परिवर्तन र रूपान्तरण गर्ने तथा समाजवादको लक्ष्य हासिल गर्ने जिम्मेवारी अझै पनि आफूहरूकै काँधमा रहेको दोहोऱ्याए।















