Logo

७ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको विषयमा एमाले जानकार रहेको स्वीकारेका छन् ।

बुधबार पत्रकार सम्मेलनमा केन्द्रीय समितिका निर्णयहरू सार्वजनिक गर्ने क्रममा उनले भण्डारीको सदस्यता नवीकरणबारे पार्टीले उपयुक्त समयमा निर्णय गर्ने भन्दै अहिलेसम्म सार्वजनिक नगरिएको स्पष्ट पारे । पोखरेलले भने, ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुल्क तिरेर सदस्य नवीकरण गरेको विषय थाहा भएपछि उपयुक्त समयमा पार्टीले निर्णय गर्नुपर्छ भनेर सार्वजनिक गरेनौँ।’ उनले नवीकरण गर्नुपर्थ्यो कि पर्दैनथ्यो भन्ने विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्नुपर्ने भएकाले बैठकले उनको सदस्यता नवीकरण स्थगित गरेको बताए।

पूर्वराष्ट्रपतिको भूमिका र पार्टीको सम्मान

पोखरेलका अनुसार राष्ट्रपति पदबाट अवकाश पाएका व्यक्तिले के गर्ने भन्ने विषय एमालेका लागि नौलो अनुभव हो। उनले संविधानमा भएको व्यवस्थालाई ध्यानमा राखेर नै पार्टीले निर्णय गरेको जिकिर गरे। ‘प्रथम राष्ट्रपति डा. रामवरण यादव पार्टी राजनीतिमा नफर्किएकाले केही गर्नै परेन,’ पोखरेलले भने।

तर, विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि पार्टीले एउटा ‘थिति बसाल्नुपर्थ्यो’ भन्ने निष्कर्षमा पुगेको उनले बताए। पोखरेलले भण्डारीले पार्टीको नेतृत्व तहमा रहँदा र राष्ट्रपति पदमा बसेर गणतन्त्रको रक्षा तथा संविधानको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै त्यसको उच्च सम्मानमा पार्टीले उनलाई ‘गणतन्त्र गौरव विभूषण’ बाट सम्मान गरेको जानकारी दिए।


सम्बन्धित समाचार