साउन ७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीहरूबीच पार्टी एकता र बलियो संयुक्त मोर्चा बनाउन अपिल गरेका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । प्रचण्डले कम्युनिस्ट पार्टीहरू अलग(अलग नबसी संयुक्त बलियो मोर्चा निर्माण गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘दलाल पुँजीवादसँग समर्पित हुने तत्त्वप्रति उदारता देखायौँ भने कुनै कम्युनिस्ट आन्दोलनको अर्थ रहने छैन। दलाल पुँजीवादविरुद्ध खडा हुने सबैसँग एकता, सहकार्य र ध्रुवीकरण हुन जरुरी छ।’
उनले दलाल पुँजीवाद र नोकरशाहीविरुद्ध एक हुन सकेमा बलियो कम्युनिस्ट मोर्चा बनाउन सकिने विश्वास व्यक्त गर्दै पार्टी एकता र संयुक्त मोर्चा बनाए मात्र पुष्पलालप्रति सच्चा सम्मान हुने बताए।‘त्यसैले बलियो कम्युनिस्ट मोर्चा बनाउन म अपिल गर्छु। पार्टी एकता पनि गरौँ। संयुक्त मोर्चा पनि बनाऔँ। धेरै व्याख्या गर्न आवश्यक छैन, प्रचण्डले थपे।















