११ साउन, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा श्रीमतीलाई श्रीमानले हत्या गरेका छन् ।
वीरेन्द्रनगर–१३, करेखोलाका ४२ वर्षीय दानसिंह ठाडामगरले सँगै सुतिरहेकी आफ्नी श्रीमती रविना थापाको आज बिहान हत्या गरेका हुन् । यो घटनालगत्तै ठाडामगरले विदेशमा रहेका छोराछोरी र प्रहरीलाई आफैं फोन गरी जानकारी दिएको प्रहरीले बताएको छ । बिहान करिब दुई बजे प्रहरीको नम्बर माग्न ठाडामगरले वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई फोन गरेका थिए। उनले प्रहरीको नम्बर मागेर आफुलाई राती फोन गरेको र श्रीमतीको हत्याको बारेमा भने केही कुरा नगरेको वडाध्यक्ष वडाध्यक्ष कोइरालाले बताएका छन् । तर, ठाडामगरले दुबहीमा भएका छोरो, जापानमा भएकी छोरी र प्रहरीलाई भने फोन गरेर श्रीमतीको हत्या गरेको खुलाएका थिए ।
जानकारी पाएलगत्तै नगर प्रहरी र करेखोला चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल पुगेर शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि प्रदेश अस्पताल पठाइएको र ठाडामगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले बताएका छन् । वडाध्यक्ष कोइरालाका अनुसार, शनिबार दिउँसो दानसिंहका बुवाआमा घरमा आएर राम्रैसँग गफगाफ गरी खाना खाएर फर्किएका थिए। साँझको खाना खाइसकेपछि श्रीमान–श्रीमती दानसिंह र रविना ओछ्यानमा पल्टिएर मोबाइल हेरिरहेका थिए । मोबाइल हेर्दाहेर्दै रविना निदाइन् । त्यसपछि दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठले टाउकोमा हिर्काएर उनको हत्या गरेका थिए ।
दानसिंह नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्ति हुन् । उनका एक छोरा दुबईमा र एक छोरी जापानमा छन्, भने अर्की छोरी सुर्खेतमै छिन् । विगतमा अत्यधिक मदिरा सेवन गर्ने गरे पनि एक हप्तायता उनले मदिरा सेवन छाडेको उनका आफन्तहरूले बताएका छन् ।















