११ साउन,काठमाडौं । निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्व भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले घुस प्रकरणमा चरणबद्ध बयान लिइरहेको छ। कर्मचारी सरुवा र जग्गा दर्तालगायतका विषयमा घुस लेनदेन भएको अडियो सार्वजनिक भएपछि अख्तियारले यस विषयमा गहिरो छानबिन सुरु गरेको हो।
अदुअआ स्रोतका अनुसार, गत सातादेखि नै दुवै पूर्वमन्त्रीसँग बयान लिने काम सुरु भएको छ। ’उहाँहरूको बयान सुरु भैसकेको छ, अख्तियारले छानबिन सुरु गरेपछि बयान लिएर अनुसन्धान थालिएको हो,’ स्रोतले भन्यो। अडियो सार्वजनिक भएपछि सेवाग्राहीबाट धमाधम घुस असुल गरिएको करिब–करिब पुष्टि भएको अवस्थामा अख्तियारले उनीहरूसँग बयान लिएको हो।
अदुअआको छानबिनका क्रममा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्व भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले एकपछि अर्को गर्दै घुस असुलेको प्रमाणहरू फेला परेको जनाइएको छ। उनीहरूले विभिन्न समयमा गरी करोडभन्दा बढी घुस असुली गरेको दाबी गरिएका बेला केही पुष्टि हुने प्रमाणहरू समेत फेला परेको अख्तियार स्रोतले बताएको छ।
निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता संलग्न भएको घुस अडियो प्रकरणमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि संलग्न भएको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो। अख्तियारले मन्त्री गुप्ताको छानबिन गर्ने क्रममा श्रेष्ठ पनि घुस प्रकरणमा संलग्न देखिएका प्रमाणहरू फेला पारेको स्रोतले जानकारी दिएको छ। अख्तियारले गत बुधबारदेखि पूर्व भूमिव्यवस्था मन्त्री श्रेष्ठसँग बयान लिनुका साथै भ्वाइस टेस्ट (स्वर परीक्षण) गरेको छ।
यसअघि अख्तियारले मंगलबार यस प्रकरणमा पूर्वमन्त्री गुप्तासँग बयान लिँदै भ्वाइस टेस्ट गरेको थियो। गुप्ताको छानबिनकै क्रममा पूर्वमन्त्री श्रेष्ठले घुस रकम मागेको प्रमाण फेला परेको हो। यस प्रकरणमा अडियो रेकर्ड गर्ने पोखराका व्यक्तिसँग पूर्वमन्त्री श्रेष्ठले पटक–पटक सम्पर्क गरेको र पैसासमेत मागेको देखिएको अख्तियार स्रोतले जानकारी दिएको छ। श्रेष्ठले मन्त्रिपरिषद् बैठकको सूचना आदानप्रदानदेखि आफ्नो निजी सुरक्षा अधिकृत (पीएसओ) प्रयोग गरेरसमेत पैसा मागेको दाबी छ।
तर, पूर्वमन्त्री श्रेष्ठले आफूमाथिको आरोप गलत भएको बताउँदै आएकी छिन्। अख्तियार स्रोतका अनुसार पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग फोनमा म्यासेज गरेर, ’…..जी, पशुपति पूजामा छु, क्यास चाहिएको छ। ड्राइभरलाई लिन पठाइदिँऊ?’ भनी म्यासेज लेखेको भेटिएपनि बयानमा भने उनले अस्वीकार गर्दै आएकी छिन्।
अख्तियार स्रोतका अनुसार तत्कालीन सामान्य प्रशासनमन्त्री गुप्ता, पूर्व भूमिसुधार मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र मन्त्री गुप्तालाई पैसा बुझाउने पोखराका ती व्यक्तिबीच निरन्तर सम्पर्क भएको खुलेको छ। ’त्यसमा पनि पूर्वमन्त्री श्रेष्ठले पोखराका ती व्यक्तिसँग निरन्तर फोन र म्यासेज गरेर काम अघि बढाइदिने आश्वासन दिएको भेटियो,’ अख्तियार स्रोतले भन्यो। मन्त्रिपरिषद्को बैठक बस्दैछ भन्ने सूचनादेखि ’मलाई मन्त्री गुप्ताले कल गर्दैछ’ भन्नेसम्मको कुराकानी फेला परेको अख्तियार स्रोतले जनाएको छ।
यही विषयलाई लिएर श्रेष्ठको पार्टीमा किचलो समेत उत्पन्न भएको छ। रञ्जिताका श्रीमान् रेशम चौधरीले पार्टीको बैठकमा यस विषयमा स्पष्ट पार्न आग्रह समेत गरिसकेका छन्। अख्तियारले भने अझै केही दिन उनीहरूसँग बयान लिएर थप प्रमाण जुटाउन लागिपरेको छ।















